खेलकूद

फूटबल टिमको बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाइयो

हिमालय टिभी
२०७८ असार ८ गते १३:५६
फूटबल टिमको बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाइयो

८ असार २०७८ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)ले साफ च्याम्पियनसीप र एशियन कप छनौटको तेस्रो चरणको तयारीका लागि ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

राष्ट्रिय फूटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो चरणमा ५० जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि छानेका हुन् । प्रशिक्षक अलमुताइरीले विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणमा बोलाइएका ३२ खेलाडीमा केही खेलाडी थप्दै टोली घोषणा गरेका हुन् ।

नेपाली टोलीले यही असार १७ गतेदेखि प्रशिक्षण शुरु गर्ने एन्फाले जनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई समूहमा विभाजन गरेर प्रशिक्षण हुनेछ । पहिलो समूहले बिहान १० बजे र अर्को समूहले दिउँसो ४ बजे प्रशिक्षण गर्नेछन् । साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुनेछ ।

यस्तै एशियन कपको तेस्रो चरणको छनौट खेल २ हजार २२ को फेब्रुअरी एकदेखि हुनेछन् । दुबै प्रतियोगिता अघि नेपालले केहि मैत्रीपूर्ण खेल खेल्ने छ । यसपटक टोलीमा ६ जना गोलरक्षक रहेका छन् ।

कुवेत भ्रमणमा रहेका किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की टोलीमा नियमित रहँदा विकेश कुथु, विशाल श्रेष्ठ र अर्पण कार्की पनि प्रारम्भिक टोलीमा समेटिएका छन् ।

युवा डिफेन्डर विकास खवास विश्वकप छनोटका दौरान चोट बोकेपछि शल्यक्रिया गर्नुपर्ने भएकोले यस पटक टोलीमा छैनन् । त्यस्तै, रन्दीप पौडेल र निरज बस्नेतसँगै मिडफिल्डर डोना थापा, गौरव बुढाथोकी, राजन गुरुङ, प्रेजेन तामाङ, राजीव लोप्चन र सुदिल राई पहिलो पटक सिनियर टोलीको क्याम्पमा परेका छन् ।

प्रकाश बुढाथोकीले झन्डै ४ वर्षपछि टोलीमा पुनरागमन गर्दा सुजल श्रेष्ठले टोलीमा फर्किएका छन् । तर कतारमा शल्यक्रिया गरि फर्किएका मिडफिल्डर विक्रम लामा पूर्णरुपमा फिट भई नसकेको कारण टोलीमा हुने छैनन् ।

त्यस्तै, त्रिदेव गुरुङ, तेज तामाङ, जर्ज प्रिन्स कार्की चोट मुक्त हुँदै क्याम्पमा अटाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्