खेलकूद

इटाली र वेल्स युरोकप फूटबलको अन्तिम १६ मा प्रवेश

हिमालय टिभी
२०७८ असार ७ गते ८:३०
इटाली र वेल्स युरोकप फूटबलको अन्तिम १६ मा प्रवेश

७ असार २०७८ काठमाडौं । समूह ए बाट इटाली र वेल्स युरोकप फूटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

समूह चरणको आफ्नो अन्तिम खेलमा वेल्सलाई १-० गोलले हराउँदै समूह विजेताको रुपमा इटालीले नकआउट चरणमा स्थान पक्का पारेको हो ।

ओलम्पिक स्टेडियममा इटालीको जितमा माटेओ पेसिनाले ३९ औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो । त्यस्तै ५५ औं मिनेटमा इथन अम्पाडुले रेड कार्ड पाएपछि वेल्स १० खेलाडीमा सिमित भएको थियो ।

इटालीले जारी प्रतियोगितामा लगातार तीन जितसहित ९ अंक जोड्यो । इटालीले पहिलो खेलमा टर्कीलाई र दोस्रो खेलमा स्विट्जरल्याण्डलाई समान ३–० ले हराएको थियो ।

त्यस्तै हारका बावजूद ४ अंक जोडेको वेल्सले पनि नकआउट चरणमा स्थान सुरक्षित पारेको छ । वेल्स र स्विट्जरल्याण्डको समान अंक भएपनि गोलअन्तरमा आधारमा स्विट्जरल्याण्ड पछि परेको हो ।

यही समूहको अर्को खेलमा स्विट्जरल्याण्डले टर्कीलाई ३–१ ले हरायो । चार टोली उत्कृष्ट तेस्रो टोलीका रुपमा अन्तिम १६ मा प्रवेश पाउने भएकाले स्विट्जरल्याण्ड अब यसका लागि तेस्रो स्थानको उत्कृष्टको सूचीमा पर्नुपर्ने हुन्छ ।

प्रतियोगितामा आज चारवटा खेल हुँदैछन् । समूह सी मा नेदरल्याण्ड्स र नर्थ म्यासेडोनिया तथा युक्रेन र अष्ट्रियाले राति पौने दश बजे प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै समूह बी अन्तर्गत राति पौने एक बजे हुने खेलमा रुस र डेनमार्क अनि बेल्जियम र फिनल्याण्डले खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्