खेलकूद

दुई आत्मघाती गोल उपहार पाएसँगै युरोकपमा जर्मनीको पहिलो जित

हिमालय टिभी
२०७८ असार ६ गते ८:४२
दुई आत्मघाती गोल उपहार पाएसँगै युरोकपमा जर्मनीको पहिलो जित

६ असार २०७८ काठमाडौं । युरोकप फूटबलमा जर्मनीले दुई आत्मघाती गोलको उपहारसँगै पहिलो जित निकालेको छ ।

समूह एफ मा गएराति जर्मनीले साविक विजेता पोर्चुगलमाथि ४–२ गोलको फराकिलो जित निकालेको हो । म्युनिखको एलिनाज स्टेडियममा पोर्चुगलले १५औं मिनेटमा कप्तान क्रिष्टियानो रोनाल्डोको गोलसँगै अग्रता बनायो ।

जर्मनीविरुद्ध रोनाल्डो यो पहिलो गोल हो भने उनले देशका लागि अन्तर्राष्ट्रिय गोल संख्या १ सय ७ पुर्‍याएका छन् । त्यस्तै युरोकपमा उनको यो कीर्तिमानी १२ औं गोल हो ।

तर ३५ औं मिनेटमा पोर्चुगलका रुबेन डायस र ३९औं मिनेटमा राफायल गुइरेरोले आत्मघाती गोलसँगै जर्मनीले २–१ को अग्रता लियो । त्यसपछि ५१औं मिनेटमा काइ हाभर्टेज र ६०औं मिनेटमा रोबिन गोसेन्सले गोल थपेपछि जर्मनीले ४–१ ले अग्रता बनायो ।

पोर्चुगलका लागि ६७औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि जर्मनी समग्रमा ४–२ ले विजयी भयो । पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो । उता पोर्चुगलले पहिलो खेलमा हंगेरीलाई ३(० ले हराएको थियो ।

यही समूहमा यसअघि हंगेरी र फ्रान्सले १–१ को बराबरी खेले । यस समूहमा फ्रान्स दुई खेलबाट चार अंकसहित शीर्ष स्थानमा रहँदा समान ३–३ अंक जोड्दै जर्मनी दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छन् ।

उता समूह ई मा स्पेन र पोल्याण्ड एकएक गोलको बराबरीमा रोकिए । स्पेनले शुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा पनि गोल हुन नसकेपछि अंक बाँड्नु परेको हो । २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

तर ५४ औं मिनेटमा पोल्याण्डका कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै खेल १–१ गोलको बराबरी गरे । ५८ औं मिनेटमा स्पेनले पेनाल्टी पाएपनि जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । यससँगै स्पेन लगातार दोस्रो पटक बराबरीमा रोकिएको छ ।

पहिलो खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेलेको थियो । यस समूहमा ४ अंक जोडेको स्विडेन शीर्ष स्थानमा रहँदा ३ अंक रहेको स्लोभाकिया दोस्रो स्थानमा छन् ।

आज समूह ए को दुई खेल हुँदैछन् । इटाली र वेल्स अनि स्वीट्जरल्याण्ड र टर्कीले राति पौने दश बजे प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्