समाज

जगदीशपुर तालमा पहलो पटक आए नयाँ पाहुना,११ वर्षपछि फर्किएको खुसी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ५ गते २०:२५
जगदीशपुर तालमा पहलो पटक आए नयाँ पाहुना,११ वर्षपछि फर्किएको खुसी (भिडियो रिपोर्टसहित)

५ असार २०७८ कपिलवस्तु । कपिलवस्तुमा हिउँदे आगन्तुक चरा बगाले सिम कुखुराले बच्चा कोरलेको पाइएको छ । जगदीशपुर तालमा बगाले सिम कुखुराका माउ र चल्ला देखिएका छन् । यसलाई चरा संरक्षणकर्मीले खुसीको खबर भनेका छन् । किनकी नेपालमा यस्तो ११ वर्षपछि भएको हो ।

कपिलवस्तुको जगदीशपुर तालमा नयाँ पाहुना थपिएका छन् । र ती पाहुना हुन् बगाले सिम कुखुराका बचेरा । यी बचेरा माउसँगै तालमा चर्छन् । माउले बच्चालाई तालमा खाना खोज्न सिकाउँछ ।

माउको पछि पछि लागेर उड्न र तालमा चारो खोज्न सिक्दैछन् यी बचेरा । बगाले सिम कुखुराले जगदीशपुर तालमा पहिलो पटक बच्चा कोरलेको हो । अझ नेपालमै यो दोस्रो पटक मात्रै हो । त्यो पनि ११ वर्षपछि । यसअघि २०६७ सालको असारमा यो चराले कैलालीको घोडाघोडीमा बच्चा कोरलेको थियो ।

नेपालमा आउने ६० प्रजातिका हिउँदे आगन्तुक चरा मध्ये एक हो बगाले सिम कुखुरा । यो अष्ट्रेलियाबाहेक अन्त सबै तिर पाइन्छ । २०६७ सालअघि यसको प्रजनन् भारतको कश्मिरमा मात्र हुने गरेको अभिलेख थियो ।

तर २०६७ सालमा नेपालको घोडाघोडी तालमा पनि चल्ला कोरलेको भेटियो । अहिले फेरि जगदीशपुर ताल क्षेत्रमा यसले चल्ला कोरलेको छ । यसबाट आगन्तुक चराका लागि यो ठाउँ राम्रो बासस्थान रहेको पुष्टि भएको छ ।

जगदीशपुर ताल सयौं थरीका आगन्तुक चराको बासस्थान हो । यहाँ रुसको साइबेरियासम्मबाट चरा आउँछन् । त्यसैले यिनीहरुको संरक्षणका लागि ध्यान दिनुपर्ने विज्ञको सूझाव छ ।

चराविद् डाक्टर हेमसागर बरालका अनुसार बगाले सिम कुखुराको भाले, पोथीभन्दा ठूलो हुन्छ । भालेको औसत तौल २ सय ४९ देखि ४ सय ९३ ग्राम हुन्छ भने, पोथीको १ सय ७३ देखि ३ सय ५५ ग्राम । पोथीले एक पटकमा ५ देखि १२ वटा अण्डा दिन्छ । चल्ला पाँचदेखि ६ हप्तामा माउसँगै रमाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *