जाजरकोटको कुशे पाटनमा बेपत्ता भएका सात जनाको उद्धार
२०७८ असार ४ गते १४:०९
४ असार २०७८ काठमाडौं । जाजरकोटको कुशे पाटनमा बेपत्ता भएका ७ जना गोठाला सकुशल भेटिएका छन् । कुशे हिमालको जलजला पाटनमा उनीहरु ४ दिनदेखि हराएका थिए ।
कुशे गाउँपालिका वडा नम्वर ८ र ९ का ७ जनालाई प्रहरीले उद्धार गरेको हो । गोठाला पाटनमा रहेको रित्तो भेडीगोठमा अर्धचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चिसो र ४ दिनदेखि भोकै रहेका कारण उनीहरूको स्वास्थ्यमा समस्या देखिए पनि खतरामुक्त रहेको बताइएको छ । उनीहरु पाटनमा पशु चौपाया छाड्न गएका बेला ठुलो हावाहुरी आएपछि सम्पर्कविहीन भएका थिए ।
हराएकामा दुईजना बालबालिका समेत थिए । हावाहुरीका कारण पाटनमा दर्जनौं पशुचौपाया मरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया