चलखेल भएको भन्दै बोर्डले सूचना निकालेपछि शेयर बजारमा नकारात्मक असर
२ असार २०७८ काठमाडौं । नेपाल धितोपत्र बोर्डले चलखेल गरिएका भन्दै ५१ वटा कम्पनीको सूचि निकालेपछि शेयर बजारमा त्यसको नकरात्मक असर परेको छ ।
जसका कारण आज एकै दिन शेयर बजार ५२ अंकले घटेको छ । नेप्से परिसूचक २ हजार ९ सय ६९ बिन्दुमा झरेको छ ।
गत आइतबार र सोमबार बढेको बजार हिजो भने सामान्य करेक्सन भएको थियो । तर हिजो नै कारोबार बन्द भएपछि बोर्डले चलखेल गरेर मूल्य बढाइएका भन्दै ५१ वटा कम्पनीको सूचि सार्वजनिक गरेको थियो ।
जसका कारण आज शेयर बजार घटेको हो । यसअघि उच्च दरले बढेका जलविद्युत, फाइनान्स र विकास बैंकको शेयर मूल्य उच्च दरमा घटेको छ । बोर्डले सूचिमा राखेका १५ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेको छ ।
शेयर बजार घटे पनि आज माइक्रोफाइनान्स कम्पनीको शेयर मूल्य भने बढेको छ । पछिल्ला दिनमा माइक्रो फाइनान्सको शेयर मूल्य बढ्न सकेको थिएन । आज दिनभरमा साढे १५ अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया