यस्तो छ सात प्रदेशको बजेट, कुन प्रदेशको ठुलो ? कुन प्रदेशको सानो ? भिडियो रिपोर्टसहित)
१ असार २०७८ काठमाडौं । सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । बागमती प्रदेशले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ । सुदूरपश्चिम प्रदेशको बजेट सबैभन्दा सानो छ । प्रदेशहरुको बजेट कस्तो छ त हेरौं–
प्रदेश १
प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ। बजेटमा चालु खर्च १४ अर्ब १६ करोड र पूँजीगत तर्फ १५ अर्ब ५ करोड छुट्याइएको छ । प्रदेशमा अघिल्लो आर्थिक वर्षको भन्दा करिब ७ अर्ब कमको बजेट ल्याइएको छ ।
बजेटमा कोरोना महामारी नियन्त्रणमा जोड दिँदै सबै नागरिकलाई खोप दिने बताइएको छ । कोरोना नियन्त्रणमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई अतिरिक्त पारिश्रमिक दिने घोषणा गरिएको छ । कोरोनाबाट प्रभावित साना तथा मझौला उद्योगको पुर्नउत्थानको कार्यक्रम ल्याइएको छ ।
प्रदेशले आफू मातहतका सबै अस्पतालको गुरु योजना बनाएर सुविधासम्पन्न बनाउने घोषणा गरेको छ । प्रदेश सरकारले समग्र स्वास्थ्य क्षेत्रमा ३ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ । पर्यटन प्रवर्द्धनका लागि ‘पर्यटक उद्यमीको हात, प्रदेश सरकारको साथ’ भन्ने कार्यक्रम ल्याइएको छ ।
प्रदेश २
प्रदेश २ सरकारले ३३ अर्ब ७९ करोडको बजेट ल्याएको छ। चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख र पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख छुट्याइएको छ। प्रदेश २ सरकारले पनि कोरोना उपचार र राहतलाई प्राथमिकतामा राखेको छ ।
महामारीसँग जुध्ने योजनाका लागि २० करोड बजेट विनियोजन गरेको छ। कोरोना उपचारमा जनशक्तिको अभाव हुन नदिने भन्दै बजेटमा अस्पतालका प्रयोगशालामा थप जनशक्ति व्यवस्थापनका लागि रकम छुट्याएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र विकासका लागि २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।
प्रदेश २ मा ३२ निर्वाचन क्षेत्र छन् । प्रतिनिधि सभा भंग गरि अध्यादेशबाट बजेट सार्वजनिक गरेको संघीय सरकारले भने निर्वाचन क्षेत्र विकास कार्यक्रम खारेज गरेको थियो। सोही प्रकृतिको कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिएको छ।
बागमती प्रदेश
बागमती प्रदेश सरकारले ५७ अर्व ७२ करोडको बजेट ल्याएको छ । पूँजीगत तर्फ २९ अर्व र चालुतर्फ २६ अर्व छुट्याइएको छ । बागमतिले पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
आगामी आर्थिक वर्षमै अस्पतालमा स्वास्थ्य सम्बन्धी यन्त्रको जडान, दक्ष कर्मचारीको व्यवस्थापन लगायतका कामका लागि बजेट छुट्याइएको छ ।
कोरोनाका कारण आमाबाबु गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरिएको छ । कोरोनाबाहेक अन्य कारणले आमाबाबु गुमाएका बालबालिकाको हकमा मासिक २ हजार सामाजिक सुरक्षा भत्ता दिने पनि वजेटमा उल्लेख छ । मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमका लागि २२ करोड विनियोजन गरेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा यो वर्ष अघिल्लो पटक भन्दा ४ अर्ब कमको बजेट आएको छ । यसपटक ३० अर्ब तीन करोडको बजेट सार्वजनिक गरिएको छ ।
चालु खर्चतर्फ १३ अर्ब ६ करोड र पुँजीगततर्फ १६ अर्ब ७३ करोड छुट्याइएको छ । गण्डकीमा नयाँ सरकारको मन्त्रालय बाँडफाँड नभएकाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभयो । बजेटमा ६५ वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्ने, स्वास्थ्य स्वयंसेवकीलाई वार्षिक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने बताइएको छ ।
‘स्वास्थ्य बीमा सरकारको जिम्मा’ कार्यक्रम पनि ल्याइएको छ। प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकासका लागि पदमार्ग, साइकलमार्ग, होमस्टे लगायतको प्रवद्र्धनमा पनि बजेट विनियोजन गरेको छ।
गण्डकी सरकारले पर्यटन व्यवसायीलाई राहत प्याकेज पनि ल्याएको छ। अप्ठ्यारोमा परेका पर्यटकको उद्धार र पर्यटक सूचना केन्द्रको विकासका लागि पनि बजेट छुट्याएको छ। सरकारी कर्मचारीको लागि पर्यटन बिदाको व्यवस्था गरिएको छ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोडको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ १४ अर्ब ९३ करोड र पूँजीगततर्फ २१ अर्ब १७ करोड विनियोजन गरिएको छ ।
चालु वर्षमा ३७ अर्ब ३५ करोडको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि साढे ३ अर्ब बढाएको छ । लुम्बिनी सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने, उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरुको तलब स्केलमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने, लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टिकृत सुविधासहितको अस्पतालमा स्तरोन्नती गर्ने लगायतका योजनाका लागि बजेट छुट्याएको छ ।
यस्तै डीपीआर सम्पन्न भएका अस्पताललाई आगामी आर्थिक वर्षमा निर्माण सुरु गर्न बजेट विनियोजन गरिएको छ । प्रदेशका सबै पालिकामा कृषि प्राविधिक राख्ने घोषणा गरिएको छ । दूधमा आत्मनिर्भर बनाउन प्रदेशले ८ करोड बिनियोजन गरेको छ । दुग्ध उत्पादनको विविधीकरण गरी छुर्पी एवं दुग्ध उद्योग सञ्चालन गर्न बजेट बिनियोजन गरिएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोडको बजेट सार्वजनिक गरेको छ । पूँजीगततर्फ २१ अर्ब ६५ करोड र चालुतर्फ ११ अर्ब ४९ करोड छुट्याइएको छ ।
कर्णाली सरकारले बजेटमा कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिएको छ । कोरोना नियन्त्रणका लागि ५३ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । शहीद परिवारलाई निःशुल्क पढाउने घोषणा गरेको छ ।
शहीद परिवारका सन्तानलाई स्नातक तहसम्म निःशुल्क अध्ययनका लागि बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले विद्यालयक्षेत्रको गुणस्तरीय विकासका लागि एक स्थानीय तहमा एक नमुना विद्यालय संचालन गर्ने भएको छ ।
सरकारले पशुपालनमा लागेका किसानलाई प्रोत्साहन गर्दै कालीकोट, मुगु, हुम्ला, डोल्पा, हुम्ला जिल्लाका किसानलाई दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिने भएको छ । अन्य जिल्लाका किसानले प्रतिलिटर ३ रुपैयाँ अनुदान पाउनेछन ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३४ करोडको बजेट ल्याएको छ । १० अर्ब ६६ करोड चालु र १७ अर्ब ६५ पुँजीगत खर्चका लागि छुट्याइएको छ ।
सरकारले चालू आर्थिक बर्षभन्दा झण्डै ३ अर्ब कमको बजेट ल्याएको छ । प्रदेशका सांसदको अगुवाइमा खर्च गर्नेगरी प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै प्रदेश गौरवका आयोजना र क्रमागत योजनाका लागि ५ अर्ब १२ करोड, तटबन्धनका लागि २ अर्ब २ करोड छुट्याइएको छ । बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । अस्पताल स्तरोन्नती तथा सेवा सुधार बर्ष कार्यक्रम सञ्चालन गर्न २ अर्ब ४२ करोड ५८ लाख, कोरोना लगायतका महामारी रोकथाम र उपचारका लागि ९० करोड विनियोजना गरिएको छ ।
वादी समुदायको गरिवी न्यूनीकरण, कैलास मानवसरोवार प्रवेश द्धार निर्माण, खप्तडमा पूर्वाधार निर्माण जस्ता कामका लागि पनि बजेट छूट्याइएको छ । सशस्त्र द्धन्द्धमा पीडीत र घाईते परिवारलाई रोजगार दिन पनि १० करोड बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया