प्रदेशहरुको बजेट सार्वजनिक, स्वास्थ्य, पूर्वाधार र पर्यटन प्राथमिकतामा

१ असार २०७८ काठमाडौं । प्रदेश सरकारहरुले कोरोना महामारीकाबीच स्वास्थ्य, पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् ।
प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्याएको छ। प्रदेश १ ले कोरोना महामारी नियन्त्रणमा जोड दिँदै सबै नागरिकलाई खोप दिने घोषणा गरेको छ । कोरोना नियन्त्रणमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई अतिरिक्त पारिश्रमिक पनि दिने घोषणा गरेको छ ।
कोरोनाबाट प्रभावित साना तथा मझौला उद्योगको पुनर्उत्थानको कार्यक्रम ल्याएको प्रदेशले आफू मातहतका सबै अस्पतालको गुरु योजना बनाएर सुविधासम्पन्न बनाउने घोषणा गरेको छ ।
प्रदेश सरकारले समग्र स्वास्थ्य क्षेत्रमा ३ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेश १ ले पर्यटन प्रवर्द्धनका लागि नयाँ कार्यक्रम घोषणा गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बूले पर्यटन क्षेत्रलाई उकास्न ुपर्यटक उद्यमीको हात, प्रदेश सरकारको साथु कार्यक्रम कार्यान्यवन गर्ने घोषणा गर्नुभयो ।
त्यस्तै, सञ्चारमाध्यमलाई दर्ता र नवीकरण दस्तुर छुट दिने कार्यक्रम पनि अघि बढाइएको छ ।
प्रदेश २ को सभामा बजेट भाषणा भैरहेको छ । सरकारले कोरोना उपचार र राहतलाई प्राथमिकता दिएको छ ।
बागमती प्रदेश सरकारले पनि कोरोना नियन्त्रणमा प्राथमिकता दिएको छ । प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशका सबै नागरिकलाई निशुल्क खोप लगाउन दुई अर्व रुपैंया बिनियोजन गरेको जानकारी दिनुभयो । कोरोनाबाट रोजगारी घुमाएकालाई विशेष कार्यक्रम ल्याइएको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्षको लागि प्रदेश सभामा बजेट पेश गर्नुभएको छ । सरकारले ६५ वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ।त्यस्तै प्रदेश सरकारले स्वास्थ्य स्वयंसेवकीलाई वार्षिक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने छ।
सरकारले ‘स्वास्थ्य बीमा सरकारको जिम्मा’ कार्यक्रम पनि ल्याएको छप्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकासका लागि पदमार्ग, साइकलमार्ग, होमस्टेलगायतको प्रवद्र्धनमा पनि बजेट विनियोजन गरेको छ। सरकारले पर्यटन व्यवसायीलाई राहत प्याकेज पनि ल्याएको छ।
लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरुको तलब स्केलमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।
लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टिकृत सुविधासहितको अस्पतालमा स्तरोन्नति गर्न २५ करोड रकम विनियोजन गरेको छ । डीपीआर सम्पन्न भएका अस्पतालालाई आगामी आर्थिक वर्षमा निर्माण सुरु गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । सरकारले प्रदेशका सबै पालिकामा कृषि प्राविधिक राख्ने घोषणा गरेको छ । प्रत्येक किसान परिवारको किसान योजना कृषि ९ सय ८३ कृषि प्राविधिकका लागि ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
दूधमा आत्मनिर्भर बनाउन प्रदेशले ८ करोड बिनियोजन गरेको छ । यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले पनि बजेट प्रस्तुत गरिरहिरहेको छ ।
आजै नीति तथा कार्यक्रम पारित गरेको कर्णाली प्रदेश सरकारले पनि बजेट ल्याउँदैछ ।
प्रतिक्रिया