आर्थिक

शेयर बजारमा अस्वाभाविक वृद्धि, विज्ञ भन्छन्– दुर्घटना हुनसक्छ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३१ गते २०:१८
शेयर बजारमा अस्वाभाविक वृद्धि, विज्ञ भन्छन्– दुर्घटना हुनसक्छ (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७८ काठमाडौं । कोरोना महामारीका कारण अर्थतन्त्रलाई धक्का लागिरहेका बेला शेयर बजारमा भने उछाल देखिएको छ ।

लगानीका अन्य क्षेत्र ठप्प हुँदा शेयरमा कारोवार पनि बढिरहेको छ । तर विज्ञले भने अहिलेको अवस्थालाई अस्वभाविक भनेका छन् । उनीहरुले लगानीकर्ता सचेत नबने कुनै पनि बेला दुर्घटना निम्तन सक्ने चेतावनी दिएका छन् ।

अर्थतन्त्रको अन्य क्षेत्रमा निराशा छाइरहेको अवस्थामा शेयर बजार भने झन चम्किरहेको छ । बजार मापक नेप्से परिसूचकले हरेक साता कीर्तिमान बनाइरहेको छ । निषेधाज्ञामा घरबाहिर निस्कन नपाएका लगानीकर्ता अहिले शेयर बजारमा झुम्मिएका छन् । हरेक दिन विभिन्न कम्पनीको शेयरमा सकारात्मक सर्टिक लागिरहेको छ । बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम थुप्रिएको र ब्याजदर केही सस्तो भएकाले पनि शेयर बजार बढ्न भूमिका खेलेको अनुमान गरिएको छ ।

अनलाइन कारोवारका कारण पनि शेयर बजारमा चहलपहल बढेको छ । यस्तो वृद्धि कहिलेसम्म कायम रहन्छ भन्न सक्ने अवस्था छैन । किनकी बजार अहिले अस्वस्थ गतिले अघि बढिरहेको विज्ञको दाबी छ ।

अर्थतन्त्र शिथिल भएका बेला शेयर बजारमा उल्लेख्य रुपमा नयाँ लगानीकर्ता प्रवेश गरिरहेका छन् । केही लगानीकर्ताको मिलेमतोमा बजार बढाइएको आशंका पनि गरिएको छ । यसले बजार फेरी दुर्घटनातर्फ जान सक्ने विज्ञको चेतावनी छ ।

पछिल्लो समय शेयर बजार अस्वाभाविक रुपमा बढ्दा लगानीकर्ता आफै पनि सचेत हुनुपर्ने देखिएको छ । हल्लाको भरमा विचार नै नगरी लगानी गर्दा जुनसुकै बेला पनि डुब्ने खतरा रहेकोमा भने लगानीकर्ता पनि सहमत छन् ।

पछिल्लो समय छोटो समयमै बढी प्रतिफल पाएका लगानीकर्ता धेरै हौसिरहेका छन् । तर सोचविचार नै नगरी लगानी गर्नु भने घातक पनि हुनसक्छ । नियमनकारी निकायले समेत यसबारेमा बारम्बार सचेत गराउने गरेका छन् । तर पनि बजार बढ्ने क्रम भने रोकिएको छैन । बजारको अस्वभाविक वृद्धिसँगै जोखिम पनि बढिरहेको तर्फ लगानीकर्ता आफै सचेत बन्नु जरुरी छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *