आर्थिक

मनसुन भित्रिएसँगै काठमाडौं उपत्यकाका किसानलाई धान रोप्ने चटारो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २९ गते २०:२३
मनसुन भित्रिएसँगै काठमाडौं उपत्यकाका किसानलाई धान रोप्ने चटारो (भिडियो रिपोर्टसहित)

२९ जेठ २०७८ काठमाडौं । मनसुन भित्रिएसँगै काठमाडौं उपत्यकाका किसानलाई धान रोप्ने चटारो छ । काठमाडौँ उपत्यकामा बढ्दो शहरीकरणले धान फल्ने खेतमा बहुतले घर ठडिएका छन् । तर उपत्यकाको काँठ क्षेत्रमा बचेका जमिनमा किसानले खेती गर्दै आएका छन् ।

निषेधाज्ञका कारण काठमाडौंको शहरी क्षेत्र सुनसान छ । व्यापार व्यवसाय हिँडडुल बन्द छ । तर शहर छाडेर अलिकति मात्र बाहिर निस्कने हो भने फरक दृश्य देखिन्छ ।

अलि पहिला रोपिएको रोपो हरियो भैसकेको छ भने बचेको खेतमा धान रोप्न किसानलाई भ्याइनभ्याई छ ।

यसपालिको धान रोपाइँ विगत वर्ष जस्तो छैन । कोरोना संक्रमणको जोखिमका बीच रोपाइको काम गर्नु परेको छ । संक्रमण हुने डरले रोपाईँका लागि चाहिने सामान र खेतमा काम गर्ने खेताला पाउन मुस्किल छ ।

काठमाडौंको उपत्यकाको अधिकांश क्षेत्रमा ताइचिन र मन्सुली धान लगाउने चलन छ । यसका साथै खुमल ११ र डोल क्षेत्रमा स्थानीय एक्ले धान पनि लगाइन्छ ।

काठमाडौँमा प्रख्यात रहेको पोखरेली मसिनो र थापचिनी धान हराइसकेको छ । पछिल्लो समय काठमाडौँको धानमा बर्णशंकर बिउले विकृति ल्याएको किसानको गुनासो छ । बढी उत्पादन हुने लोभमा स्थानीय जातलाई छोडेर बर्णशंकर (हाइब्रिड) धान लगाउदा स्थानीय धानको जात मासिएको छ ।

यो वर्ष मनसुन समयमै शुरु भएको छ । त्यसैले धान उत्पादन पनि बढ्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यकामा भने शहरीकरणका कारण उब्जाउयोग्य जमिन मासिँदै गएको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *