बाँकेका यादव समुदायको भैंसीपालन धरापमा, दुध विक्री नहुँदा समस्या (भिडियो रिपोर्टसहित)
२९ जेठ २०७९ बाँके । बाँकेको डुडुवा गाउँपालिकाको कम्दी गाउँमा बसोबास गर्ने यादव समुदायको मुख्य पेशा भैंसी पालन हो । गाउँका यादव परिवारले २ सय वटासम्म भैंसी पालेका छन् । दुध विक्रीबाट हुने आम्दानी नै यादव समुदायको मुख्य आम्दानीको स्रोत हो । तर अहिले दूध विक्री नहुँदा किसान मारमा परेका छन् ।
बाँकेको कम्दीका कृपाराम यादवको परिवारले २ सय वटा भैंसी पालेको छ । ६ दाजुभाइसहित ४० जनाको परिवार भैंसी पालनमा सक्रिय छ । तर बजारमा दुधको माग घटेकाले कृपारामको परिवार अहिले समस्यामा छ ।
उत्पादन भएको सबै दुध बिक्री हुँदैन । बिक्री भएको दुधको पैसा पनि समयमा आउँदैन । किसानले भैंसीलाई दाना किनेर समेत खुवाउन सकेका छैनन । घाँस मात्रै खुवाउँदा भैंसीले दुध पनि आधा मात्रै दिने गरेको छ । मेहनतको तुलनामा आम्दानी निक्कै कम हुने गरेको किसानको गुनासो छ ।
कोरोना संक्रमणका कारण निषेधाज्ञा सुरु भए पछि होटेल, रेष्टुरेन्ट बन्द छन । संक्रमणको जोखिमका कारण सभा, समारोह, विवाह, पूजापाठ जस्ता कार्यक्रम पनि रोकिएका छन् । यसले दुधको माग ४० प्रतिशतसम्म घटेको छ । कम्दी गाउँका किसान दुध विक्रीका लागि बजार जानआउन समेत गाह्रो भएका कारण सस्तो मूल्य मै गाउँको संकलन केन्द्रमा दुध बेच्न बाध्य छन् ।
मुस्किलले विक्री भएको दुधको रकम पनि दुग्ध विकास संस्थान र डेरी उद्योगले समयमा भुक्तानी नदिँदा भैंसी पालक किसान थप समस्यामा परेका छन् । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले पनि २०७७ माघदेखि किसानलाई दुधको भुक्तानी दिएको छैन ।
निषेधाज्ञाका कारण किसान दोहोरो मारमा परेका छन् एकातिर उत्पादन भएको पुरै दुध बिकेको छैन । अर्कातिर विक्री भएको दुधको भुक्तानी पनि पाएका छैनन् । दुधको विक्री वितरणमा सहजीकरणका लागि सरकारी निकायले पनि खासै पहल गरेका छैनन् ।
प्रतिक्रिया