चेपाङ समुदायमा अनिकाल, भोकले बालबच्चा रोएको हेरेर बस्न बाध्य अभिभावक (भिडियो रिपोर्टसहित)

२६ जेठ २०७८ चितवन । चितवनको उच्च पहाडी भू–भागमा बसोवास गर्ने चेपाङ समुदायमा पनि अनिकाल लागेको छ । यसअघि धादिङका चेपाङ भोकमरीमा परेको खबर हामीले प्रशारण गरेको थियौं । चितवनका चेपाङ पनि घरमा खानेकुरा सकिएपछि अहिले भोकै परेका छन् ।
पहाडको भिरालो खोरिया खनेर मकै कोदो रोपेर त्यसैबाट आएको आयस्ताले बिहान बेलुकाको छाक टार्दै आएका चितवनका चेपाङ समुदाय अन्नपात सकिए पछि भोकमरीमा परेका छन् ।
आफ्नै जग्गा नभएका उनीहरुले जंगलको खोरिया फाडेर खेति गर्दै आएका छन् । त्यसरी गरेको खेती पनि राम्रो हुँदैन । बाँकी छ महिना ज्यालमजदुरी गरेर पेट पाल्ने उनीहरु अहिले काम रोकिँदा झनै समस्यामा परेका हुन् ।
कमाउन जान नपाएपछि घरमा अन्न भित्रिन पाएको छैन । खान नपाएर बालबच्चा रोएको हेरेर बस्न उनीहरु बाध्य छन् ।
चेपाङहरुले जंगलमा कन्दमुल खोजेर भोक मेट्ने गरेका छन् । गिठ्ठा भ्याकुर छिप्पिएपछि चिउरी अब उनीहरुको आहारा बनेको छ ।
सरकारले चेपाङ जातिको उत्थानका लागि विभिन्न कार्यक्रम ल्याए पनि उनीहरुको जीवनस्तर जस्ताको त्यस्तै छ । गैरसरकारी संस्थाहरुले गरेको लगानी पनि बालुवामा पानी जस्तै भएको छ । स्थानीय सरकारमा समेत यी चेपाङ समुदायको पहुँच पुगेको छैन ।
प्रतिक्रिया