समाज

दीर्घरोगी र जेष्ठ नागरिकको स्वास्थ्य सेवामा सक्रिय स्वास्थ्यकर्मी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २५ गते १४:५०
दीर्घरोगी र जेष्ठ नागरिकको स्वास्थ्य सेवामा सक्रिय स्वास्थ्यकर्मी (भिडियो रिपोर्टसहित)

२५ जेठ २०७८ दाङ । दाङको देउखुरीका एक स्वास्थ्यकर्मी कोरोना महामारीको जटिल अवस्थामा पनि दीर्घरोगी तथा जेष्ठ नागरिकको उपचारका लागि घरघरै पुग्ने गरेका छन् । स्वास्थ्यकर्मीको सक्रियताका कारण धेरै बिरामी लाभान्वित भएका छन् ।

दाङ देउखुरीको राप्ती गाउँपालिकाका स्वास्थ्यकर्मी प्रकाश विष्ट आफ्ना वडा टोलमा रहेका दीर्घ रोगी तथा जेष्ठ नागरिकको उपचार गर्न घरघरमा पुग्ने गर्नुभएको छ । स्वास्थ्य पोलिक्लिनिका सञ्चालक तथा हिको संस्थाका अध्यक्षसमेत रहेका उहाँ सिसहनियाँ बजारबाट झण्डै ८ किलोमिटरको दूरीमा पर्ने पहाडी गाउँमा समेत पुग्नुहुन्छ । शहरबाट टाढा विकटमा रहेको आफ्नै घर आँगनमै स्वास्थ्यकर्मी आउँदा जेष्ठ नागरिक तथा दीर्घ रोगी खुसी छन् ।

निषेधाज्ञाका अवस्थामा धेरै नागरिकमा विभिन्न स्वास्थ्य समस्या भए पनि उनीहरु बाहिर निस्किन पाएका छैनन् । त्यसैले उनीहरुलाई स्वास्थ्य परामर्श दिन उनीहरुको घरघर पुग्ने गरेको विष्ट बताउनुहुन्छ ।

सबै हिसाबले पछाडी परेका गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका बिरामीहरुलाई बोकेर देउखुरीको सिसहनियाँ, लमही, भालुवाङ लैजानुपर्ने अवस्था छ । यी गाउँमा एउटा मेडिकल समेत नहुँदा सिटामोल किन्नका लागि पनि देउखुरी झर्नु पर्ने बाध्यता छ । स्थानीय बासिन्दाले स्थानीय, प्रदेश तथा संघीय सरकारसँग स्वास्थ्य केन्द्रको माग गरेका छन् ।

कतिपय पहाडी तथा विकट गाउँमा अहिले पनि शिक्षा, स्वास्थ्य, सडक तथा अन्य विकास पूर्वधारबाट पछाडि परेका छन् । जनप्रतिनिधि आएको पनि करीव ४ बर्ष भइसक्यो तर अहिले सम्म विकट बस्तिमा सामान्य सुबिधा समेत पुगेको छैन ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *