समाज

धादिङको चेपाङ बस्तीमा भोकमरी, सयौं चेपाङ भोकै बस्न बाध्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २४ गते २०:४०
धादिङको चेपाङ बस्तीमा भोकमरी, सयौं चेपाङ भोकै बस्न बाध्य (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७८ धादिङ । धादिङको दक्षिणी विकट गाउँमा रहेको चेपाङ वस्तीमा भोकमरी शुरु भएको छ । जंगलमा कन्दमुल, गिठ्ठा भ्याकुर समेत नपाएपछि धादिङका चेपाङ भोकभोकै बस्न बाध्य छन् । चेपाङ वस्तीमा भोकमरी भए पनि कसैले सहयोग नपाएको उनीहरुको गुनासो छ ।

धादिङको दक्षिणमा रहेको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ स्थित चेपाङवस्तीको यो घर । यो घर जस्तो जीर्ण छ, घरका मुली रामसिंहको शरीर पनि त्यस्तै बनेको छ ।

उहाँको शरीरमा घाउ नै घाउ छ । घाउमा गाउँमै पाइने ओखतिमुलो लगाएका उहाँ निक्कै कमजोर हुनुहुन्छ । उहाँलाई उपचारको खाँचो छ । तर उहाँलाई घाउको भन्दा पनि भोको पेटको चिन्ता छ । अहिले उहाँको परिवार नै भोकै परेको छ ।

निषेधाज्ञाका कारण काम धन्दा बन्द भएपछि अहिले चेपाङ वस्तीमा सबैजसो घरको स्थिति रामसिंहको जस्तै छ । पोहोर निषेधाज्ञामा स्थानीय सरकार र विभिन्न संघ संस्थाले राहत दिए पनि यसपटक कसैले हेरेनन् । खेतबारीमा उब्जिएको अन्नले ६ महिना पनि पुग्दैन । त्यसमा पनि अहिले फौजी किराले आक्रमण गरेपछि उव्जनि भएको छैन ।

पोहोर परार जंगलमा पाउने कन्दमुलले पेट भर्ने गरे पनि यसपाली वनमा गिठ्ठा भ्याकुरसमेत पाइन छाडेको छ । गास र बासको समस्या त छँदैछ त्यसवाहेक पनि चेपाङ वस्तीमा अनेक दुख छन् ।

कतिपय परिवारले नजिकैका पसलबाट उधारो ल्याउने र खोले पकाएर जिविकोपार्जन गर्ने गरेका छन् । गाउँमा भएका युवा काम खोजिरहेका छन् तर निषेधाज्ञाका कारण पाउन सकेका छैनन् ।

यो चेपाङ वस्तीमा ३ सय ५० परिवार बस्छन् । सबैको अवस्था उस्तै छ । सबैको चुलो बल्न छाडेको छ । पछिल्लो समय चेपाङले खेतीपाती गर्न थालेका छन् । तर मल अभावमा गतिलो उब्जाउ पनि भएको छैन । कुर्सीको खेलमा मस्त सरकार र राजनीतिक दललाई चेपाङका यस्ता समस्याप्रति कुनै वास्ता छैन ।

भिडियो हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *