रक्तदानका कार्यक्रम रोकिँदा ब्लड बैंकमै रगत अभाव (भिडियो रिपोर्टसहित)
२४ जेठ २०७८ बाँके । बाँकेका अस्पतालमा दैनिक ४५ देखि ५० युनिट रगतको माग छ । तर कोरोना महामारी र निषेधाज्ञाका कारण रक्तदानका कार्यक्रम रोकिएपछि ब्लड बैंक मै रगत अभाव हुन थालेको छ ।
बाँकेको ब्लड बैंकले रगत आबश्यक पर्ने बिरामीका आफन्तलाई रक्तदाता खोजेर ल्याउन आग्रह गर्दै आएको छ । स्थानीय बिरामीका आफन्तलाई रक्तदाता खोजेर ल्याउन सहज भए पनि टाढाका बिरामीलाई रक्तदाता खोजेर ल्याउन सहज छैन ।
छिमेकी जिल्लाबाट उपचारका लागि बाँकेका अस्पताल आएकालाई रगत व्यवस्थापन गर्न गार्हो भए पछि बाँकेका विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम गर्न थालेका छन् ।
शल्यक्रिया गरेर प्रसुती सेवा लिने महिला, विभिन्न दुर्घटनामा परेका घाइते, सिकलसेल एनिमिया, थाल्सेमियाका बिरामी र शल्यक्रिया गरेर उपचार गर्नुपर्ने अन्य बिरामीका लागि रगत आवश्यक पर्छ ।
कोरोना महामारी र त्यसको नियन्त्रणका लागि निषेधाज्ञा जारी भएपछि रक्तदानका कार्यक्रम रोकिएका छन । रगतको अभाव हुन थाले पछि ब्लड बैंकले रक्तदान बढाउन अनुरोध गर्दै आएको छ ।
बाँकेमा रक्तदानका कार्यक्रम फाट्टफुट्ट शुरु भएपछि रगतको व्यवस्थापन केही सहज भए पनि पर्याप्त भएको छैन् । स्वास्थ्य सावधानी अपनाएर रक्तदानका कार्यक्रम गरी रगतको अभाव टार्नु आवश्यक देखिएको छ ।
प्रतिक्रिया