समाज

बागलुङमा आधुनिक बसपार्क निर्माणको काम अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २३ गते ६:१८
बागलुङमा आधुनिक बसपार्क निर्माणको काम अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

२३ जेठ २०७८ बागलुङ । बागलुङमा आधुनिक बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा निर्माणाधीन बसपार्कको करिब ९८ प्रतिशत काम सकिएको छ ।

बागलुङ नगरपालिकामा उपल्लाचौरको दापगरामा निर्माण थालिएको आधुनिक बसपार्क निर्माणको जिम्मेवारी निर्माण कम्पनी आशिष सेवा जेभीले लिएको थियो ।

उसले २०७६ साल कात्तिक २७ गते बसपार्क निर्माणको काम सक्ने गरी जिम्मेवारी पाएको भए पनि यो बसपार्क निर्माणको काम अझै सकिएको छैन । यसको म्याद ३ पटक थपिसकिएको छ ।

अहिले भने बसपार्कको करिब ९८ प्रतिशत काम सकिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले नगर विकास कोषसँगको समन्वयनमा ८ करोड ८० लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । नगर विकास कोषसँगको ९० प्रतिशत ऋण लगानी, सरकारको साढे सात प्रतिशत र नगरपालिकाले साढे दुई प्रतिशत आर्थिक दायित्वको व्यवस्थापन गरेको छ ।

बसपार्कमा टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी पार्कलगायतको संरचना तयार भएका छन् । आधुनिक बसपार्क निर्माण भएपछि कम्तीमा ७० वटा बस पार्किङ गर्न सकिने र साना सवारी साधनका लागि समेत सहज पार्किङको व्यवस्था हुनेछ । अहिलेको बसपार्क साँघुरो छ । त्यसैले यो बसपार्क छिट्टै बनेमा सजिलो हुने स्थानीयबासिन्दाको अपेक्षा छ ।

बसपार्क कालोपत्रेका लागि नयाँ प्रविधि आवश्यक परेकाले काममा ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ । पिचका लागि आवश्यक बिटुमिन तताउने प्रविधि पोखरामा रहेको र त्यहाँबाट ल्याउँदा बाटोमै चिसो हुने भएकाले समस्या भएको निर्माण कम्पनीले बताएको छ । बिटुमिन तताउने प्लान्ट पर्वतमा संचालन हुन लागेकोले छिट्टै कालोपत्रे शुरु गरिने निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *