भेरी अस्पतालमा कुटपिटमा परेका नर्सहरु अझै यस्तो त्रासमा (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७८ बाँके । नेपालगञ्जको भेरी अस्पतालमा पटकपटक नर्स र स्वास्थ्यकर्मीमाथि आक्रमण भएका छन् । पछिल्लो पटक जेठ १३ गते कोरोना वार्डमा ड्यूटीमा रहेका नर्स र डाक्टरहरुमाथि कुटपिट भयो । कुटपिटमा परेका नर्सहरु अहिले पनि त्रासमै छन् ।
ड्युटी गरिरहेका बेला आक्रमणमा परेका भेरी अस्पतालका नर्सले आफुहरु अझैं पनि डर र त्रासमै रहेको बताएका छन् । घटना भएको ५ दिन बितिसक्यो । तर उनीहरु राम्रोसँग निदाउन सकेका छैनन् । सानो स्वरमा बोल्दा पनि आक्रमण गर्न आउनै लागेको हो कि भन्ने उनीहरुमा त्रास देखिन्छ ।
स्वास्थ्यकर्मीमाथि आक्रमण भए पछि चिकित्सक संघ र नेपाल नर्सिङ संघ लगायत विभिन्न पेशागत संघसंस्थाले दोषीमाथि कारबाही र जेल बीथ आउट बेलको प्रावधानसहितको कानून बनाउन माग गर्दै आन्दोलन गरिरहेका छन् ।
स्वास्थ्यकर्मीले हरेक दिन साँझ भेरी अस्पताल परिसरमा भेला भएर प्रदर्शन गरिरहेका छन् । उनीहरुले आक्रमण रोक्न कडा कानून आवश्यक भएको बताएका छन् ।
दोषीमाथि कारबाही सुरु भइसकेको र अस्पतालमा थप २५ जना सुरक्षाकर्मी खटाइएकाले अस्पतालमा भय र त्रासको वातावरण हटेको प्रशासनको दाबी छ ।
जेठ १३ गते बेलुका भेरी अस्पतालका स्टाफ नर्स सदीक्षा गैरे, आश्विनी गुरुङ, रीता भन्डारी भावना श्रेष्ठ , कविता पुन, चन्द्र प्रकाश शाहु, दीपक गुप्ता र समा अन्सारीमाथि आक्रमण भएको थियो । छानबिन समितिले अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण र हातपात गर्नेलाई ज्यान मार्ने उद्योगमा कारबाहीका लागि सिफारिस गरेको छ ।
प्रतिक्रिया