कोपा अमेरिका फूटबल ब्राजिलमा आयोजना हुने
१८ जेठ २०७८ काठमाडौं । कोपा अमेरिका फूटबल प्रतियोगिता ब्राजिलमा आयोजना हुने तय भएको छ ।
दक्षिण अमेरिकी फुटबल कन्फेडेरेशन (कोन्मेबोल) ले प्रतियोगिता ब्राजिलमा हुने जनाएको छ । अर्जेन्टिनामा कोरोना भाइरसको हालको अवस्थाका कारण जिम्मेवारी खोसिएको आयोजकको भनाइ छ ।
अर्जेन्टिनामा अहिले कोरोना संक्रमणका कारण खेलकूद गतिविधि बन्द छन् भने संक्रमण पनि बढिरहेको देखिएको छ । ब्राजिल प्रतियोगिताको साविक विजेता समेत हो । प्रतियोगिता यही जुन १३ देखि जुलाई १० तारिखसम्म हुने तालिका छ ।
यसअघि अर्जेन्टिना र कोलम्बियामा प्रतियोगिता हुने तय भएको थियो । तर कोलम्बियामा सरकारविरोधी आन्दोलन चर्किएपछि अर्जेन्टिनाले एक्लै प्रतियोगिताको आयोजना गर्ने बताएको थियो ।
ब्राजिलमा हुने प्रतियोगिताका लागि खेल हुने रंगशालाको टुंगो चाँडै लाग्ने आयोजकको भनाइ छ । सन् २ हजार २० मै आयोजना हुनुपर्ने कोपा प्रतियोगिता कोरोना महामारीकै कारण एक वर्ष पछि सरेको हो ।
प्रतिक्रिया