आर्थिक

बजेट कार्यान्वयन हुनेमा शंका नगर्न अर्थमन्त्री पौडेलको आग्रह

हिमालय टिभी
२०७८ जेठ १६ गते १७:२२
बजेट कार्यान्वयन हुनेमा शंका नगर्न अर्थमन्त्री पौडेलको आग्रह

१६ जेठ २०७८ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ ।

अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको दावी गर्नुभयो । कोरोना महामारीबाट नकारात्मक बनेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रीत भएको भन्दै उहाँले स्पष्ट योजना र दृष्टिकोणका साथ बजेट आएको बताउनुभयो ।

अर्थ सचिव शिशिर ढुंगानाले कोरोना महामारीका कारण आर्थिक गतिविधि नै कम भएको क्षेत्रलाई अस्तित्वमा राखिराख्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ ती क्षेत्रमा कर छुटको व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।

अर्का सचिव रामशरण पुडासैनीले सरकारले अघि सारेको कर छुट कार्यक्रमले लगानी बढाउने, नयाँ उद्योग स्थापना हुने, औद्योगिक क्षेत्र फस्टाउने र अन्तत त्यसले राजश्व पनि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले हिजो सार्वजनिक गरेको बजेटमा उत्पादनमूलक उद्योग, साना करदाता, निर्यातमुलक उद्योग र स्वास्थ्य उपचारसम्बन्धी सामानमा भन्सार कर छुट दिएको छ ।

त्यसैगरी आयाततर्फ औद्योगिक कच्चा पदार्थ, औषधी र घरायसी सामानमा कर छुट दिएको सरकारले नयाँ कर शुरु गरेको छैन भने भएका करका दर पनि सामान्य समायोजन मात्रै गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *