आर्थिक

कागती खेतीमा भविष्य खोज्दै बागलुङका युवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १६ गते १४:२३
कागती खेतीमा भविष्य खोज्दै बागलुङका युवा (भिडियो रिपोर्टसहित)

१६ जेठ २०७८ बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर १२ का किसान यतिबेला कागतीका बेर्ना हुर्काउन ब्यस्त छन् । पहिले झार उम्रेर उजाड देखिने खेतबारीमा अहिले युवाले कागती खेती लगाएर भविष्य खोजिरहेका छन् । उनीहरु समूह बनाएरै व्यावसायिक कागती खेति गर्न लागि परेका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर १२ को सहेँलाका ४० जना किसानले चासो कृषक समूह दर्ता गरिसकेका छन् । पहिले उजाड देखिने जमिनमा अहिले किसानले आफ्नो भविष्य देखिरहेका छन् । तीन सय रोपनी जमिनलाई एकिकृत गरेर कागती खेती थालिएको छ ।

एक रोपनी जमिनको प्रतिवर्ष ५ हजार रुपैयाँ उपलव्ध गराउनेगरी एकिकृत गरिएको जमिनमा यो वर्ष दुई हजारभन्दा बढि बिरुवा रोपिएको र बाँकी जमिनमा बिरुवा लगाउने किसानको योजना छ । पहिले परम्परागत खेतिमा तल्लिन किसान अहिले भने व्यावसायिक रुपमा कागती खेतितर्फ लागेका हुन ।

बाझोँ रहेका जमिन आन्तरिक तरिकाबाट ब्यवस्थापन गर्ने छलफल भैरहेको समयमा लकडाउन भएको र लकडाउनको समयमा विदेश गएका युवा गाउँ फर्किएकाले सहज भयो । अहिले केही युवा विदेश नै गए पनि बाँकी युवाले खेती धानिरहेका छन् ।

कागती खेतीबाट केही वर्षमै आम्दानी लिन सकिने र लामो समयसम्म आम्दानी लिन सकिने भएकाले विदेशको कमाइ भन्दा राम्रो हुने किसानलाई लागेको छ ।

हाल एक सय रोपनी जमिनमा कागतीका बिरुवा लगाईएको छ । बाँकी दुई सय रोपनी जमिनमा पनि कागती लगाउने योजना बनाईरहेका किसानप्रति नगरपालिका लगायत सबै सरोकारवाला निकायले पनि चासो देखाईरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *