समाज

निषेधाज्ञाका बीच पृथ्वी राजमार्गमा यात्रुबाहक सवारीसाधनको लर्को (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १५ गते १९:२१
निषेधाज्ञाका बीच पृथ्वी राजमार्गमा यात्रुबाहक सवारीसाधनको लर्को (भिडियो रिपोर्टसहित)

१५ जेठ २०७८ धादिङ । निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएपछि पृथ्वीराजमार्ग दिनभर सुनशान देखिन्छ । तर रात छिप्पिदै जाँदा पृथ्वीराजमार्गमा चलहपहल पनि बिस्तारै बढ्दै जान्छ ।

कारण हो रातीमा सवारीसाधनको चाप । निषेधाज्ञाका बीच खचाखच यात्रु बोकेका सवारी साधन पनि राजमार्गमा उल्लेख्य मात्रामा देख्न सकिन्छ ।

निषेधाज्ञाले सबैतिर सुनसान छ तर अपवाद पृथ्बी राजमार्गमा भने यस्तो चहलपहल छ । यो दृश्य राती करिब १२ बजेको हो । निषेधाज्ञाको समयमा यात्रुबाहक बस, माइक्रोबस सञ्चालन गर्न पाईदैन । तर रातको एघार बजे धादिङको गजुरी आइपुगेका यी यात्रुबाहक सवारी साधन विभिन्न गन्तव्यका लागि संघीय राजधानी काठमाडौंबाट छुटेका हुन् ।

पूर्वको मेचीदेखि मध्यपश्चिममा महाकालीसम्मका लागि छुटेका यी बससँग जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको कुनै पास पनि छैन् । तर पास विनै यी सवारी यात्रु बोकेर निर्वाध रुपमा नागढुंगाबाट बाहिरिने गरेका छन् ।

पृथ्वीराजमार्गमा दिउसो खाद्यान्न, औषधी, इन्धन, लगायतका अत्यावश्यक सामाग्री बोकेका सवारी साधनका साथै एम्बुलेन्स र केही नीजि सवारी साधनमात्रै गुडिरहेको देख्न सकिन्छ । तर जव रात छिप्पिदै जान्छ, यात्रुबाहक बस बिना रोकतोक गुड्न थाल्छन् ।

निषेधाज्ञा लम्बिदै जाँदा समस्यामा परेकाहरु गृहजिल्ला फर्किन थालेपछि उनीहरुलाई लक्षित गरेर केही व्यवसायीले रातको समयमा बस सञ्चालन गरिरहेको पाइएको छ । उनीहरुले सामाजिक सञ्जाल लगायतका माध्यमबाट यात्रु खोज्ने र रातको समयमा गन्तव्य तर्फ लैजाने गरेका छन् ।

रातको समयमा खचाखच यात्रुबाहक सवारी साधनलाई सुरक्षाकर्मीले नदेख्ने होइन । तर नदेखेको जस्तो गरिदिन्छन् । प्रहरीको एउटा निकाय अर्कोलाई देखाएर पन्छिने गरेको छ ।

काठमाडौं उपत्यकामा अहिले कोरोना संक्रमण उच्च छ । काठमाडौंबाट रातीराती मान्छे गाउँ गाउँ पुग्दा संक्रमण पनि सँगै पुग्ने जोखिम छ । निषेधाज्ञा सुरु हुनु अघि पनि ठूलो संख्यामा राजधानी छाडेका नागरिकका कारण गाउँमा संक्रमण फैलिसकेको छ ।

अहिले पनि काठमाडौबाट गाउँ फर्कनेको संख्या रातीको समयमा उस्तै छ । निषेधाज्ञा गर्ने तर पालना नहुने हो भने संक्रमण नियन्त्रण गर्नु झन चुतौतिपूर्ण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *