गिट्टी बालुवा उत्खननमा प्रयोग भएका १५ टिपर तोडफोड (भिडियो रिपोर्टसहित)
१२ जेठ २०७८ चितवन । नारायणी नदीमा गिट्टी बालुवा उत्खननमा प्रयोग गरिएका १५ वटा टिपरमा स्थानीय बासिन्दाले तोडफोड गरेका छन् ।
भरतपुर महानगरपालिका १६ ज्ञानेश्वर सामुदायिक वनस्थित सडकमा रहेका ति टिपरमा आज तोडफोड गरिएको हो । निषेधाज्ञाका बेला जथाभावी नदी उत्खनन गर्दै भिडभाड गरेको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका हुन्।
महामारीको मौका छोपेर भरतपुरका अधिकांश क्षेत्रमा अहिले अवैध उत्खनन र टिपर आतंक मच्चाइएको स्थानीयको आरोप छ । जथाभावी उत्खनन गरेका स्थानीयले स्वस्फूर्त रुपमा तोडफोडमा उत्रिएको ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले बताउनुभयो ।
वनले केही सीमा तोकेर नदीजन्य पदार्थ उत्खननका लागि स्वीकृति दिएको भएपनि जथाभावी गरिएकोमा स्थानीय असन्तुष्ट छन् । ठेकेदार कम्पनीले स्थानीय प्रशासनसँग समन्वयन गरेर उत्खनन् गरिरहेको बताएको छ ।
त्यसैले यसमा मिलेमतोको आशंका गरिएको छ । जथाभावी उत्खननले बर्षाको बेला नारायाणी नदीमा बाढी आउने स्थानीयमा चिन्ता छ ।
प्रतिक्रिया