खेलकूद

मैत्रीपूर्ण फूटबल खेल्न नेपाली टोली इराक पुग्यो

हिमालय टिभी
२०७८ जेठ १२ गते १७:०५
मैत्रीपूर्ण फूटबल खेल्न नेपाली टोली इराक पुग्यो

१२ जेठ २०७८ काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फूटबल टोली आज बस्रा पुगेको छ ।

मैत्रीपूर्ण खेलका लागि दोहा हुँदै गएको टोली आज बिहान इराकको बस्रा पुगेको हो । २३ सदस्यीय खेलाडीसहित ३५ सदस्यीय टोलीमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल पनि छन् ।

विश्वकप तथा एसिया कप छनोटको बाँकी खेलको तयारीका क्रममा रहेको नेपालले इराकसँगको खेललाई अभ्यासका रुप लिएको छ । जसका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले राष्ट्रिय टोलीमा व्यापक हेरफेर गरेका थिए ।

अधिकांश युवा खेलाडी रहेको टोलीमा ६ जनाले पहिलो पटक स्थान बनाएका छन् । नेपालले इराकसँग यही जेठ १५ गते बस्रा रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछ ।

त्यसपछि भोलिपल्ट टोली सडक मार्ग हुँदै कुवेत जानेछ । त्यहाँ नेपालले विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटका बाँकी खेल खेल्नेछ । नेपालले २० गते चाइनिज ताइपेइ, २४ गते जोर्डन तथा २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

विश्वकप छनोट अन्तर्गत नेपाल अहिले ३ अंक सहित तालिकाको चौथो स्थानमा छ । चौथो स्थान कायम राख्न सके नेपालका लागि एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्