समाज

कोरोना महामारीका बेला कपिलवस्तुको बाणगंगा नदीमा चरम दोहन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ११ गते १८:४३
कोरोना महामारीका बेला कपिलवस्तुको बाणगंगा नदीमा चरम दोहन (भिडियो रिपोर्टसहित)

११ जेठ २०७८ रुपन्देही । देश एकातिर कोरोना कहरले आक्रान्त भैरहेको छ । राज्यको सम्पूर्ण ध्यान कोरोना नियन्त्रण र समाधानमा केन्द्रित छ । यही मौकाको फाइदा उठाउँदै कपिलवस्तुको बाणगंगा नदीमा चरम दोहन भइरहेको छ । नदीजन्य पदार्थमा ठेकेदार पक्षको लापरवाहीले सीमा नाघिसक्दा पनि सरोकारवाला निकाय भने मौन छन् ।

यो कपिलवस्तुको बाणगंगा नदीको हो । यहाँ दिनदहाडै नदीजन्य पदार्थ दोहन गर्ने क्रम बढेको छ । डोजर र एक्साभेटर लगाएरै नदीबाट ढुंगा, गिट्टी, बालुवा र मिस्कट निकाल्ने काम भैरहेको छ । देश कोरोना कहरले आक्रान्त छ ।

यही परिस्थितिको फाइदा उठाउँदै खोलानाला बगरमा परिणत गराउन ठेकेदार लागिरहेका छन् । दिनरात डोजर र एक्साभेटर चलेको चल्यै छ । अनुगमन गर्ने निकाय मौन रहँदा स्थानीय आक्रोशित छन् ।

स्थानीय स्वायत्त शासन ऐनले नदीजन्य पदार्थको ठेक्का लगाउने, अनुगमन गर्ने र संरक्षण गर्ने कामको जिम्मा स्थानीय तहलाई दिएको छ । तर बाणगंगा नगरपालिका भने नदीको स्वरुप नै बिगार्ने गरी अहिले भैरहेको नदीजन्य पदार्थको दोहनको साक्षी बसिरहेको छ । ऐतिहासिक महत्व नष्ट हुने गरी भैरहेको दोहनमा नगरपालिका रमिते छ । स्थानीयमा डरको वातावरण छ ।

ठेक्का लगाउँदा नै नदीजन्य पदार्थ कति निकाल्ने, कसरी निकाल्ने, गहिराई कतिसम्म खन्न पाइने, नदीको निश्चित चौडाई बाहिर गएर नदीजन्य सामग्री निकाल्न नपाइने र नदीको स्वरुप बिगार्न नपाइने गरी मापदण्ड बनाइएको छ ।

अर्कोतर्फ नदीमा मेसिनरी औजार प्रयोग गर्न नपाइने गरी प्रतिबन्ध नै लगाइएको छ । तर बाणगंगा नदीमा भने दिउँसै डोजर र एक्साभेटरको प्रयोग भैरहेको छ । कुनै पनि मापदण्ड पालना भएको छैन । नदीमाथि यसरी अचाक्ली दोहन हुँदा पनि नगरपालिका भने लाचार बनिरहेको छ ।

स्थानीय वनका पदाधिकारी पनि नदीजन्य सामग्री दोहनको रमिते बनेका छन् । ठेकेदार पक्षको प्रलोभनमा परेर हुन सक्छ उनीहरु बोल्न सकिरहेका छैनन्। आफ्नो क्षेत्र भए पनि वन कार्यालयले कुनै अनुगमन गरेको छैन । सामुदायिक वनका पदाधिकारी पनि चुप छन् ।

बाणगंगा नगरपालिका, स्थानीय जनप्रतिनिधि, वन समितिका पदाधिकारी तथा सदस्य लगायत आम जनताको आँखै अगाडीबाट दिनरात नदीजन्य पदार्थमाथि प्रहरी प्रशासनको ध्यान पनि पुग्न सकेको छैन ।

करोडौं मूल्य बराबरको नदीजन्य सामग्री सेटिङकै आधारमा दोहोन भइरहेको स्थानीयको बुझाइ छ । त्यसैका कारण सबै तै चुप मै चुपको अवस्थामा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *