समाज

पाँचथरमा कोरोना : न्यून परीक्षणमा पनि अधिक संक्रमित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १० गते १८:५६
पाँचथरमा कोरोना : न्यून परीक्षणमा पनि अधिक संक्रमित (भिडियो रिपोर्टसहित)

१० जेठ २०७८ पाँचथर । पछिल्लो पटक ग्रामीण क्षेत्रमा कोरोना संक्रमण बढिरहेको छ । पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि संक्रमण तिव्रताका साथ फैलिएको छ । न्यून परीक्षणमा पनि अधिक संक्रमित भेटिन थालेका छन् ।

पाँचथरका गाउँगाउँमा ज्वरोका बिरामी छन् । पर्याप्त मात्रमा परीक्षण हुन सकिरहेको छैन् । होम आइसोलेशनमा राखिएका संक्रमितको निगरानी हुन नसक्नु, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ नहुनुले समस्या भइरहेको देखिन्छ ।

पहिलो लहरमा गाउँमा नपुगेको कोरोनाको दोश्रो लहर गाउँ गाउँमा फैलिएको छ । अहिलेसम्म पाँचथरमा चार सय भन्दा बढी संक्रमित भेटिएका छन् । पछिल्लो पीसीआर रिपोर्टमा ६६ दशमल ६६ प्रतिशतमा पोजेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय पाँचथरले पर्याप्त समन्वय गर्न सकेको छैन् । स्थानीय तह पनि के गर्ने गर्ने भन्नेमा अलमलिएको देखिन्छ । अन्य जिल्लामा कोरोना फैलिँदै गर्दा जिल्लामा गरिएका निर्णय समयमा कार्यान्वयन नहुँदा समस्या छ । कोभिड अस्पताल भरिएको छ ।

जिल्लाका बिरामीलाई बढी समस्या भए झापा पुर्‍याउनुपर्ने बाध्यता छ । अक्सीनको केही जोहो भएको छ । भेन्टिलेटर जोड्ने तयारी भए पनि चलाउने जनशक्ति छैन् । जिल्ला अस्पतालमा चार वटा भेन्टिलेटर आएको छ । अक्सिजन कन्ट्रेष्टर मेसीन र अक्सिजन सिलिण्डर किन्नका लागि पाँचथर उद्योग वाणिज्य संघले रकम संकलन अभियान चलाएको छ ।

निषेधाज्ञालाई कडाई गरेर संक्रमणको चेन तोड्नलाई प्रयास भए पनि सफल हुन सकेको छैन् । निषेधाज्ञा कार्यान्वयनमा सुरक्षा निकाय लागिरहेकै छ ।

समुदायस्तरमा फैलिएको कोरोना नियन्त्रणका लागि निक्कै कठिन बन्दै गएको छ । पर्याप्त परीक्षण गरेर संक्रमितको पहिचान गरी नियन्त्रणका लागि थप पहल आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *