कोरानाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा महिला सैनिक (भिडियो रिपोर्टसहित)

१० जेठ २०७८ बाँके । नेपालगन्ज र कोहलपुरका अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनमा महिला सैनिक टोली पनि खटिएको छ । पछिल्ला दिनमा मृत्यु बढेसँगै शव व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएपछि नेपालगन्जको राँझास्थित भैरवप्रसाद गणबाट महिला सैनिकको टोली खटिएको हो ।
नेपालगन्जको राँझास्थित भैरव प्रसाद गणका ४ जना महिला सैनिक हरेक दिन बिहान अस्पतालमा पुग्छन् । संक्रमणको जोखिमबाट बच्नका लागि पिपिइ सेट लगाउँछन् । अस्पतालबाट शव निकाल्छन् ।
अनि सम्मानका साथ शव वाहनमा राखेर घाटसम्म पुराउछन् । मृतकका आफन्तलाई उनीहरुको धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गर्न सहयोग गर्छन् ।
नेपालगञ्जमा दैनिक १० देखि १५ जनासम्म कोरोना संक्रमणबाट मृत्यु हुन थालेपछि उनीहरु शव व्यवस्थापनमा खटिएका हुन् ।
घाटमा शव जलेको मात्रै देखेका सैनिक महिलाले शव व्यवस्थापनको जिम्मेवारी आइलाग्दा शुरुका दिनमा अप्ठ्यारो महशुस गरेका थिए । तर काम गर्दै जाँदा उनीहरु शव व्यवस्थापनको काममा अभ्यस्त हुन थालेका छन् ।
सेनामा जागिर खाएपछि हरेक सैनिकले आइपर्ने जस्तोसुकै जिम्मेवारी पनि सहज रुपमा पुरा गर्नुपर्छ । त्यसैले उनीहरूले यसलाई एउटा सैनिकले गर्नुपर्ने कर्तव्य ठानेका छन् ।
नेपाली सेनाले शव व्यवस्थापनमा खटाएका सैनिक महिलालाई १० दिने तालिम गराएको छ । उनीहरुलाई ब्यारेकमा छुटटै बस्ने व्यवस्था मिलाइएको छ ।
नेपाली सेनाले २०६० सालदेखि साधारण सेवातर्फ पनि महिलालाई भर्ना लिँदै आएको छ । हाल नेपाली सेनामा साधारण सेवातर्फ सिपाही देखि जुनियर अधिकृतसम्म तीन हजार सात सय ५८ महिला सैनिक छन् ।
प्रतिक्रिया