सर्वोच्चमा रिट लिएर जाने सांसदको संख्या १४९ भन्दा बढी हुने, भोलि रिट दर्ता हुने
९ जेठ २०७८ काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा रिट लिएर जाने सांसदको संख्या १४९ भन्दा बढ्ने बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले आज सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने १४९ सांसद सर्वोच्च अदालतमा रिट हाल्न जाँदा संख्या नघट्ने बताउनुभएको हो । बरु संख्या बढ्ने उहाँले दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘आज हामीले १४९ प्लस अरु केही साथीहरु पनि थपिनुभएको छ । रिटको तयारी भइराखेको छ । ड्राफ्ट अन्तिममा पुगेको छ, बेलुकासम्म त्यो टुंगिदैछ । फिजिकल्ली नै बहुमत उपस्थित भएर भोलि हामी अदालतमा रिट दर्ता गर्न जाने अन्तिम तयारी भएको छ । तपाईहरु कोही कन्फ्युज नहुनुहोला, अस्ति १४९ मा हस्ताक्षर नगर्ने मध्येपनि केही सांसदहरु थपिनुभएको छ । घट्नुभएको छैन ।’
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सबैको हस्ताक्षर संकलन भइरहेको र भोलि बिहान १० बजे रिट दर्ता गरिने बताउनुभयो ।
नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले पनि आजै सबैले हस्ताक्षर गरिसकेको र बहुमत पुगिसकेको बताउनुभयो । संख्या अझै बढ्ने पनि उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको तर्फबाट आजै सबै जिल्ला र पालिकाहरुमा विपक्षी गठबन्धनका पाँच राजनीतिक दल छलफल गरी अवस्था हेरी राजनीतिक प्रतिरोधका कार्यक्रमरु गर्ने निर्देशन दिने सहमती भएको बताउनुभयो ।
नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिले संविधानको धारा ७६(५) अन्तर्गतको सरकार बनाउन बहुमत सांसदको हस्ताक्षर दिँदा पनि त्यसलाई बेवस्ता गरेको भन्दै संविधानको खुल्लम् खुल्ला उल्लंघन गरिएको बताउनुभयो ।
नेकपा(एमाले)का नेता सोमप्रसाद पाण्डेले आफुहरु सकेसम्म नेकपा(एमाले)को एकताको पक्षमा रहेको बताउनुभयो । उहाँले एमाले एकता गराउन अझैपनि आफुहरु लागिरहेकको बताउनुभयो ।
नेता पाण्डेले अझैपनि एमाले एकताको सम्भावना टुटिनसकेको पनि बताउनुभयो ।
प्रतिक्रिया