खेलकूद

विश्वकप फूटबल छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टोली घोषणा

हिमालय टिभी
२०७८ जेठ ४ गते १७:११
विश्वकप फूटबल छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टोली घोषणा

४ जेठ २०७८ काठमाडौं । इराकविरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप छनोटका बाँकी खेलका लागि २३ सदस्यीय नेपाली फूटबल टोलीको घोषणा गरिएको छ । जसमा स्ट्राइकर नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले टोलीमा पुनरागमन गरेका छन् ।

गत चैतमा सम्पन्न थ्री नेसन्स कप जित्दा टोलीमा रहेका खेलाडीमा व्यापक हेरफेर गर्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आज अन्तिम टोली घोषणा गरेका हुन् । थ्री नेसन्स कप जित्दा टोलीमा रहेका १३ खेलाडी यस पटक टोलीबाट बाहिर रहँदा त्यस टोलीका १० खेलाडी मात्र टोलीमा स्थान बनाउन सफल भएका छन ।

प्रारम्भिक प्रशिक्षणमा खेलाडीको प्रदर्शन हेरेपछि प्रशिक्षक अलमुताइरीले ९ खेलाडीलाई बाहिर राख्दै अन्तिम टोली घोषणा गर्दा ६ खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भए । मिडफिल्डर कमल थापा, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलरक्षक विशाल सुनार पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।

यस्तै स्ट्राइकर आशिष लामा र सुमन लामा मिडफिल्डर पुजन उपरकोटी टोलीमा फर्किएका छन् । चोटका कारण स्ट्राइकर भरत खवास टोली बाहिर रहँदा यसअघि टोलीमा रहेका दर्शन गुरुङ तथा डिफेन्डर रन्जित धिमाल र निशान खड्काले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

गत शनिबार सम्पन्न नेपाल सुपर लिगमा गरेको प्रदर्शनका आधारमा खेलाडी छानेर प्रशिक्षक अलमुताइरीले प्रारम्भिक प्रशिक्षणमा बोलाएका थिए ।

नेपालले यही १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । त्यसपछि जुन पहिलो सातादेखि सुरु हुने विश्वकप छनोटका बाँकी खेलका लागि टोली कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले २० गते चाइनिज ताइपेइ, २४ गते जोर्डन र २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

विश्वकप छनोटमा नेपाल ३ अंक सहित तालिकाको चौथो स्थानमा छ । नेपालले ५ खेलमध्ये १ खेल मात्रै जितेको छ । अरु चार खेल नेपालले हारेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन ।

अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान छ । कुवेत र जोर्डनको १०–१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्