समाज

प्रविधिमा पहुँच नहुँदा ग्रामीण क्षेत्रका विद्यार्थी पठनपाठनबाट बञ्चित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३ गते १४:४७
प्रविधिमा पहुँच नहुँदा ग्रामीण क्षेत्रका विद्यार्थी पठनपाठनबाट बञ्चित (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ धादिङ । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले देशभरका शिक्षण संस्था बन्द गर्दै वैकल्पिक माध्यमबाट अध्यापन गराउने निर्णय गर्‍यो । सरकारको निर्णय अनुसार सहरी क्षेत्रका निजी विद्यालय तथा कलेजहरुले अनलाइन कक्षा शुरु गरिसकेका पनि छन् । तर धादिङका अधिकांश ग्रामीण क्षेत्रमा इन्टरनेट र मोबाइल नेटवर्कको सहज पहुँच नहुँदा सरकारी विद्यालयका विद्यार्थी भने अनलाइन पठनपाठनबाट बञ्चित हुन बाध्य छन् ।

धादिङ सिद्धलेक गाउँपालिका माझीटारका सफल थपलिया दैनिक घरायसी काममा व्यस्त छन् । विद्यालय बन्द भएपछि थपलिया दैनिक जसो अभिभावकलाई सघाउन तरकारी बारीमा काम गर्ने गरेका छन् ।

कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि खेतबारीमा काम गर्नु र घरायसी काममा परिवारलाई सघाउनु सफलको दैनिकी बनेको छ । खेतवारीमा भेटिएका सफल सरकारले भने जस्तै अनलाइन कक्षा भएको भए घरमै बसेर कम्युटर, ल्यापटप वा स्मार्टफोनमा अनलाइन कक्षा लिइरहेका हुने थिए ।

तर गाउँमा इन्टरनेटको सहज व्यवस्था र मोवाइल नेटवर्कको समस्याका कारण उनको विद्यालयले अनलाइन कक्षा शुरु गरेको छैन । विद्यालय बन्द भएसँगै सफलको पढाइ पनि ठप्प छ ।

सफलजस्तै परिवारलाई काममा सघाउँदै गरेको अवस्थामा भेटिए बेनीघाट रोराङ गाउँपालिका ताल्तीका रञ्जित प्रजा । कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि रञ्जितको पनि पढाइ ठप्प छ । इन्टरनेट अभाव र नियमित विद्युत आपूर्ति नभएका कारण अनलाइन कक्षा नभएकाले पढाइबाट बञ्जित हुनुपरेको रञ्जितको दुखेसो छ ।

रञ्जित र सफल जस्तै यो गाउँका सबै विद्यार्थीहरु अनलाइन कक्षाबाट बञ्चित छन् । पठनपाठन नभएका कारण ग्रामीण क्षेत्रका सरकारी विद्यालयका विद्यार्थी खेतीपाती, घरायसी काममा अभिभावकलाई सहयोग गर्नुका साथै बाँकी समय खेलेरै बिताउने गरेका छन् ।

नियमित पढाइ नभएका कारण छोराछोरीहरुले पढाइमा ध्यान दिन छाडेको अभिभावकको गुनासो छ ।

इन्टरनेट पहुँच नहुने र नियमित विद्यूत आपूर्तिमा समस्या हुँदा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको शिक्षकहरुको भनाइ छ ।

कोरोना संक्रमणकै जोखिमका कारण अघिल्लो शैक्षिक सत्रमा करिब ६ महिना बन्द रहेका शिक्षण संस्था चालू शैक्षिक सत्र नसकिँदै पुनः बन्द गर्नुपर्ने अवस्था आयो ।

बाध्यात्मक परिस्थिति सिर्जना भएपछि विद्यार्थीहरु पठनपाठनबाट बञ्चित हुन बाध्य छन् भने एउटै कक्षामा तोकिएको क्षैशिक अवधि भन्दा बढी समय रहन बाध्य भएका छन् । सरकारले ग्रामीण क्षेत्रका विद्यार्थीका लागि उपयुक्त वैकल्पिक पठन प्रविधि दिन नसक्दा हजारौं विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।

भिडियो हेर्न यो लिङ्क क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *