खेलकूद

कस्तो रह्यो पहिलो फ्रेन्चाइज फूटबल नेपाल सुपर लीग ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३ गते ६:३४
कस्तो रह्यो पहिलो फ्रेन्चाइज फूटबल नेपाल सुपर लीग ? (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ काठमाडौं । पहिलो फ्रेन्चाइज फूटबल नेपाल सुपर लीग (एनएसएल)को घोषणासँगै धेरैले शीर्ष श्रेणीको ए डिभिजन लीग छाँयामा पर्ने हो कि भन्ने आशंका गरेका थिए । फूटबलमा व्यवसायिक घरानाको प्रवेश, ठूलो लगानी, राम्रा विदेशी खेलाडीको आगमनका कारण कतिपय भने यो लीगले नेपाली फूटलबमा नयाँ युगको शुरुवात भएको पनि माने । तर प्रतिकुल परिस्थितिका बीच पनि एनएसएलले जसरी प्रतियोगिता गर्यो त्यसले नेपाली फूटबलमा व्यावसायिक अभ्यासको थालनी भएकोमा भने दुईमत छैन् ।

वैशाख ११ गतेदेखि भएको नेपाल सुपर लीग एनएसएल फूटबलको उपाधि काठमाडौं रेजर्सले जित्यो । फाइनलमा धनगढी एफसीलाई हराउँदै काठमाडौं रेजर्स एनएसएलको पहिलो च्याम्पियन बन्यो । यसले उपाधि विजेता काठमाडौंलाई मात्र हैन, नेपाली फूटलबलाई नै फाइदा पुगेको छ ।

सुरुवातदेखि नै दर्शकलाई मैदान प्रवेश नदिइएको प्रतियोगितामा खेलाडीको प्रदर्शन र प्रतिस्पर्धात्मक खेलले टेलिभिजनमा हेरिरहेका दर्शकहरु उत्साही थिए । सधैं विदेशी लीगमा रमाउने दर्शक घरेलु मैदानमा भएको खेलमा तानिए ।

यसअघि विदेशी खेलाडीका रुपमा अफ्रिकी खेलाडीको खेल हेर्दै आएका दर्शकले घरेलु मैदानमा यस प्रतियोगिताबाट युरोपियन खेलाडीको खेल कौशल पनि हेर्न पाए । स्तरीय विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीलाई पनि त्यही अनुरुपको प्रदर्शन गर्न सहयोग पुग्ने र एनएसएल जस्तो प्रतियोगिताले ए डिभिजन लिगमा पनि तीव्र प्रतिस्पर्धा देख्न पाइने फूटबल जानकार बताउँछन् ।

व्यावसायिक घरानाको प्रवेशले नेपाली फूटबलको स्तरवृद्धिमा सहयोग पुग्ने विश्वास छ । व्यावसायिक घरानाले गरेकै लगानीकै कारण यसै प्रतियोगितामा पनि स्तरीय खेल देखियो । तर पनि सबै सिनियर खेलाडीबाट सोचे अनुरुपको प्रदर्शन भने हुन सकेन ।

तर पनि यो प्रतियोगिताले संभावना देखाएको छ । नेपाली फूटबललाई व्यावसायिक बनाउन जरुरी रहेछ भन्ने पुष्टि भएको छ । यसले उचित व्यवस्थापन गरेमा खेल क्षेत्रले उद्योगको रुप लिनेमा सहभागी टोली पनि विश्वस्त छन् ।

कोरोना कहरका कारण सुरुवातदेखि दबाबमा रहेको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टले सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्नु आफैँमा ठूलो सफलता मान्नु पर्छ । निषेधाज्ञाका कारण दर्शकलाई मैदानमा ल्याउन नपाउँदा आर्थिक रुपमा केहि नोक्सानी भएपनि प्रत्यक्ष प्रसारणबाट प्रतियोगिताको लोकप्रियता बढेको छ ।

अन्य देशहरुमा पनि अहिलेको विषम परिस्थितिमा बन्द रंगशालामा खेलहरु संचालन हुँदै आएका छन् । त्यसैको अनुशरण गर्दै स्वास्थ्य प्रोटोकलको पालन गर्न सकेको खण्डमा कुनै पनि खेल संचालन गर्न सकिने रहेछ भन्ने यसबाट प्रमाणित भएको छ ।

समग्रमा प्रतियोगिता सफल भएको मानिरहँदा प्रतियोगिता अवधिभर देखिएको केही घटनाबाट भने आयोजकलाई पनि सचेत बनाएको छ । सहभागी टोलीहरुले खेल तालिकाका विषयमा गरेका गुनासो, रेफ्री विवाद, विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीचको खेलमा खेल भावना विपरीतको कार्यले आयोजकसँगै अन्य टोलीलाई पनि गम्भिर बनाएको छ । यस्ता विषयमा उचित ध्यान दिन सकेको खण्डमा व्यावसायिक फूटबलको सुरुवात मानिएको यस प्रतियोगिताले अझै उचाई लिने र समग्रमा नेपाली फुटबललाई नै सही दिशा दिन सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्