समाज

सरकारले घर बनाइदिने भएपछि नागरिक खुसी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २ गते १६:५७
सरकारले घर बनाइदिने भएपछि नागरिक खुसी (भिडियो रिपोर्टसहित)

२ जेठ २०७८ गुल्मी । विपन्न परिवारका लागि घर बनाउन थालिएको छ । गुल्मीका विभिन्न समयमा पहिरोमा परेका विपन्न नागरिकहरुलाई राज्यले एकीकृत नमूना बस्तीअन्तर्गत घर बनाइदिन थालेपछि नागरिक खुसी भएका छन् ।

गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनीकी पुतली विक हिजोआज ढुक्कसँग निदाउनुहुन्छ । २०७२ सालको भुकम्प र त्यसपछि गएका परकम्पले सिङ्गो लम्पन गाउँ नै पहिरोको उच्च जोखिममा पर्‍यो । पानी परे छानो चुहिएर घर नै भत्कने डरले जाग्राम बस्नुपर्थ्यो । तर सरकारले अहिले खन्युखर्कमा नयाँ घर बनाइदिएको छ । त्यसले पुतलीलाई ढुक्क बनाएको छ ।

मदानेको सिर्सेनीमा मात्रै होइन, धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लामा पनि वाग्लाकोतको पहिरोबाट विस्थापितलाई वडाचौरमा ३७ रोपनी जग्गा खरिद गरी घर बनाएर नयाँ बस्तीमा सार्न लागिएको छ । बस्ती स्थानान्तरण भएर नयाँ घरमा बस्दा पहिरोको जोखिम नहुने, बाटो, विद्युत, खानेपानी लगायतका पनि सुविधा हुने भएकोले स्थानीय खुशी छन् ।

एकीकृत नमूना बस्तीका लागि पूर्वाधार निर्माणको काम पनि भइरहेको छ । वाग्लामा ८२ लाख ६९ हजार, सिर्सेनी खन्यूखर्कमा ७६ लाख तथा सिर्सेनीकै काफलपाटामा ४४ लाख गरी दुई करोड दुई लाख ६९ हजारमा तीनै ठाउँमा पूर्वाधारको काम भइरहेको छ ।

जसअन्तर्गत पक्की मोटरबाटो, मेसिनरी वाल, नाली, गेट, खानेपानीका ट्याङ्की, घडेरी सम्याउने काम भएका छन् । तर घरसँगै शौचायलयका लागि बजेट नहुँदा भने समस्या परेको छ ।

आगामी असार मसान्तसम्म वाग्लाको वडाचौरमा १८, सिर्सेनीको काफलपाटामा १३ र खन्युखर्कमा १९ गरी ५० वटा नयाँ घर बन्दैछन् । सरकारले एउटा घर बनाउन ३ लाख रुपैंया लाभग्राहीलाई वितरण गर्छ । अहिलेसम्म पहिलो र दोस्रो गरी घर बनाउन २ लाख वितरण गरिएको छ ।

बस्ती स्थानान्तरणसँगै रोजगारीका पनि व्यवस्था गर्न सके लाभग्राही कामका लागि अन्यत्र भौतारिनुपर्ने अवस्थाको पनि अन्त्य हुने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *