आर्थिक

स्वास्थ्य सामग्रीसहितका गाडी चीनको खासाबाट तातोपानी नाकातर्फ प्रस्थान

हिमालय टिभी
२०७८ जेठ २ गते १५:३०
स्वास्थ्य सामग्रीसहितका गाडी चीनको खासाबाट तातोपानी नाकातर्फ प्रस्थान

२ जेठ २०७८ काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिएको अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री बोकेका गाडीहरु चीनको खासाबाट तातोपानी नाकातर्फ प्रस्थान गरेका छन् ।

महावाणिज्य दूतावासका अधिकारीले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीहरु न्यालम कस्टमबाट छुटिसकेको जानकारी दिएको तातोपानी भन्सारका नाकाका भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो ।

भन्सार अधिकृत गौतमले ती सामान आउनासाथ आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं पठाइने बताउनुभयो । कुन–कुन सामान कति–कति परिमाणमा आउँदैछन् भन्ने जानकारी आफूहरुसम्म नआइपुगेको पनि गौतमले जानकारी दिनुभयो ।

तातोपानी भन्सारमा चीनले ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । कोरोना महामारीविरुद्ध लड्न सहयोग पुगोस् भनेर चीनले २० हजार थान अक्सिजन सिलिण्डर, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई अनुदानमा दिने घोषणा गरेको छ ।

केही थान सिलिण्डरहरु नेपाल एयरलाइन्सको वाइडबडी जहाजले बेइजिङबाट ओसारेको छ । पहिलो खेपमा चार सय थान अक्सिजन सिलिण्डर ल्याएको जहाज दोस्रो खेप लिन गएराति फेरि बेइजिङ गएको छ ।

एकैपटक धेरै सामग्री छिटो ल्याउन सकियोस् भनेर स्थलमार्ग प्रयोग गरिएको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन सन्चालन केन्द्र (सीसीएमसी)ले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *