समाज

लापरवाहीका कारण बागलुङमा कोरोना संक्रमण दर हालसम्मकै उच्च (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १ गते १४:४८
लापरवाहीका कारण बागलुङमा कोरोना संक्रमण दर हालसम्मकै उच्च (भिडियो रिपोर्टसहित)

१ जेठ २०७८ बागलुङ । बागलुङ जिल्लामा कोरोना संक्रमणको दर हालसम्मकै उच्च देखिएको छ । प्राय सामान्य लक्षण देखिएका संक्रमित होम आइसोलेसनमा रहेका छन् । केही जटिल समस्या देखिएका बिरामीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।

२५ शैयाको धौलागिरि अस्पतालमा हाल ३७ कोरोना संक्रमितहरुको उपचार भैरहेको छ । अस्पतालमा कोरोना संक्रमितका लागि बेड अभाव देखिएपछि अस्पतालको स्तरोन्नतिका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट व्यवस्थापन गरेको छ ।

महामारी फेलिएसँगै बागलुङमा कोरोना संक्रमितको संख्या बढ्दै जादा धौलागिरि अस्पतालको क्षमताभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । केही जटिल समस्या देखिएका बिरामीहरुलाई हेलिकोप्टरमार्फत काठमाडौँ तथा पोखरा पठाउने गरिएको छ ।

त्यसैगरी, बागलुङ नगरपालिकाकै पुरानो भवनलाई ३६ बेडको आइसोलेसन निर्माण गरिएको छ । हाल नगरपालिकाको आइसोलेशनमा ८ संक्रमितहरु रहेका छन् । उनीहरुमा केही जटिल समस्या देखिएमा तुरुन्तै धौलागिरि अस्पतालमा लैजाने बन्दोबस्त मिलाइएको छ ।

अस्पतालमा जनशक्ति अभाव छ भने अर्कोतर्फ अस्पतालको कूल क्षमता २५ शैया भए पनि क्षमता भन्दा बढी ३७ जना संक्रमितहरुको उपचार भइरहेको छ । धौलागिरि अस्पतालले आपतकालीन व्यवस्थापनका लागि २५ शैयाबाट बढाएर ३५ पुर्याएको छ । र अस्पतालको एमरजेन्सी वार्डलाई व्यवस्थापन गरेर तत्काल थप ५० बेड थप्ने योजना बनाएको छ ।

धौलागिरि अस्पतालमा अक्सिजनसहितका १०० बेडको सेवा विस्तारका लागि गण्डकी प्रदेश सरकारले वैशाख २७ गते ६० लाख रकम निकासा गरी अख्तियारी पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको उपप्रादेशिक अस्पताल बनाउन अस्पतालमा यस अघिनै एक सय बेड उपलब्ध भए पनि अस्पतालको ‘सी’ ब्लकको भवन सात वर्षदेखि निर्माण सम्पन्न हुन नसक्दा अस्पतालमै थन्किएका थिए । समयमै अस्पतालको ‘सी’ ब्लक भवन निर्माण नभएपछि हाल अस्पतालमै रहेको थोरै ठाउँलाई अत्याधिक प्रयोग गरेर थप बेड विस्तार गर्न लागिएको हो ।

हाल जिल्लामा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । यस अघि प्रशासनले रोक्नका लागि खासै चासो नदिएको विवाह, चौरासी पूजा लगायतका कार्यक्रमले जिल्लामा कोरोनाको संक्रमणलाई फैलिन निकै मद्दत गरेको छ । पहिले कतैकतै मात्र संक्रमित मात्र फेला पर्ने गरेकोमा पछिल्लो समयमा परीक्षण गरिएका अधिकांशमा संक्रमण पुष्टि हुँदै जाँदा उपचारको भने चिन्ता थिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *