नेपाल सुपर लीगको उपाधि जित्ने चार वटै टोलीको दाबी (भिडियो रिपोर्टसहित)

२८ वैशाख २०७८ काठमाडौं । नेपाल सुपर लिग एनएसएल फूटबलको प्लेअफमा पुगेका चार वटै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् ।
पहिलो क्वालिफायरमा आज शीर्षस्थानको काठमाडौं रेजर्स् र दोस्रो स्थानको धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । लीग चरणमा धनगढीले काठमाडौंले हराएको थियो । त्यसैले आजको खेलमा पनि काठमाडौंविरुद्ध लीग चरणकै नतिजा दोहोर्याउने लक्ष्यमा धनगढी छ । तर काठमाडौं भने पहिलाको गल्ती नदोहोर्याउँदै फाइनलमा स्थान बनाउने तयारीमा छ ।
काठमाडौं र धनगढीबीचको विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोलीले ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच हुने खेलको विजेतासँग खेल्नु पर्ने हुन्छ । जारी लीगमा ललितपुरले अविश्वसनीय पुनरागमन गरेको छ । सुरुआती तीन खेलमा तीन अंक मात्र जोडेको ललितपुर पछिल्ला दुई खेलमा ६ अंक जोड्दै प्लेअफका लागि छनोट भएको थियो ।
बुटवललाई लीग चरणमा ललितपुरविरुद्ध भोगेको हारको जवाफ फर्काउने राम्रो मौका छ । बलमा राम्रो पकड बनाएपनि आवश्यक नतिजा निकाल्न चुकिरहेको बुटवलका लागि अबका खेलमा गोलको विकल्प छैन् ।
यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरने छ भने विजेताले काठमाडौं र धनगढीबीचको खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना भईरहेको प्रतियोगिताको फाइनल जेठ १ गते हुनेछ ।
लीगको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ जित्ने छन् ।
प्रतिक्रिया