समाज

भारतबाट भित्रिनेको लर्को लम्बिँदै, सीमामा कोरोना परीक्षण नगन्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २८ गते १४:३८
भारतबाट भित्रिनेको लर्को लम्बिँदै, सीमामा कोरोना परीक्षण नगन्य (भिडियो रिपोर्टसहित)

२८ वैशाख २०७८ धनगढी । भारतमा कोरोना संक्रमणको दोस्रो लहर तिब्र भएपछि नेपाली नागरिक घर फर्किने क्रम बढ्दो छ । लकडाउनका कारण रोजगारी खोसिएपछि नेपाली कामदार स्वदेश फर्किरहेका हुन् । तर नेपाल आएका उनीहरुको सिमा नाकामा कोरोना परीक्षण भएको छैन ।

यसले गाउँ गाउँमा कोरोना संक्रमण फैलने जोखिम बढेको छ । कैलालीको त्रिनगर नाकाबाट दैनिक १५ सय नागरिक नेपाल प्रवेश गरे पनि केहीको मात्रै एन्टिजिन परिक्षण भइरहेको छ ।

गत वर्ष पहिलो चरणको कोरोना कहरका कारण रोजगारी गुमाउँदै भारतबाट स्वदेश फर्केका नेपाली लकडाउन खुलेसँगै भारत पसेका थिए । लकडाउन खुलेर व्यवसाय शुरु भएपछि उनीहरु रोजगारीका लागि भारत पसे । तर भारत पसेको केही महिनामा फेरि दोश्रो लहरको संक्रमण फैलियो ।

त्यसैले उनीहरुले स्वदेशकै बाटो रोज्नुपरेको छ । दैनिक लाखौँको संख्यामा संक्रमित थपिदै गएपछि भारतका बिभिन्न शहरमा लकडाउन जारी छ । यही लकडाउनले रोजगारी गुमेपछि कैलालीको त्रिनगर नाका हुँदै अहिले धमाधम नेपालीहरु स्वदेश फर्किरहेका छन ।

सरकारले भारतबाट आएका नेपालीलाई रोजगारी दिने उद्घोष गरे पनि त्यसको कार्यान्वयन भएन । अनि नागरिकहरु फेरि बाध्यताबस भारत पसेका थिए । भारतमा कोरोनाका कारण लकडाउन भएपछि रोगसंगै भोकको त्रासले उनीहरु स्वदेश फर्किए ।

भारतमा रोजगारी गुमाएर पछिल्लो एक महिनामा २५ हजारभन्दा बढी नेपाली त्रिनगर नाका हुँदै स्वदेश फर्किएका छन् । तर स्वदेश फर्कनेको पर्याप्त मात्रामा परीक्षण भइरहेको छैन । भारतबाट नेपाल आउने मध्ये समूह अनुसार एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।

एक समुहको एक जनालाई परीक्षण गर्ने र समस्या देखिएकालाई परिक्षण गर्ने गरिएको छ । भारतबाट आउनेमध्ये एन्टिजेन परिक्षण गर्दा १० प्रतिशतमा पोजेटिभ देखिएको छ ।

भारतबाट स्वदेश आउने क्रम दिनानुदिन बढिरहेको छ । यहाँ आएर उनीहरु सिधै घर जाने गरेका छन् । नेपालमा पनि स्थिती नियन्त्रण बाहिर गइसकेको छ । भारतबाट आउने नागरिक सिधै गाउँघरमा जाँदा अहिले गाउँ गाउँमा कोरोनाको संक्रमण फैलिएको छ । सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन गरे पनि यहि कारणले नियन्त्रणमा चुनौति थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *