समाज

कोरोना संक्रमितको घर–घरमा पुगेर उपचार र परामर्श (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २७ गते १८:२८
कोरोना संक्रमितको घर–घरमा पुगेर उपचार र परामर्श (भिडियो रिपोर्टसहित)

२७ वैशाख २०७८ नेपालगञ्ज । नेपालगञ्जमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । संक्रमितको संख्या तिब्र गतिमा बढेपछि तीन हप्तादेखि नेपालगञ्जका अस्पताल भरिएका छन् ।

सिकिस्त बिरामीलाई अस्पतालमा बेड र अक्सिजन पाउन हम्मेहम्मे छ । स्वास्थ्य अवस्था जटिल भएका संक्रमित पनि होम आइसोलेशन मै छन् । त्यसैले होम आइसोलेशनमा रहेका संक्रमितलाई उनीहरुकै घरमा पुगेर उपचार गर्न र परामर्श दिन थालिएको छ ।

नेपालगन्ज उप महानगरपालिका वडा नम्बर एकका जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी र अत्यावश्यक औषधिसहित संक्रमितको घर मै पुगेर उपचार सेवा दिन सुरु गरिएको छ ।

टोलीले होम आइशोलेशनमा बसेका गम्भीर संक्रमितको घरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने, अत्यावश्यक औषधि दिने, काउन्सिलिङ गर्ने, संक्रमितको अवस्था अनुसार एक्सरे तथा रगत परीक्षणको परामर्श दिने गरेका छन ।

एक्सरे र रगत परीक्षणको शुल्क वडा कार्यालयले नै व्यहोर्ने गरेको छ । घरमा परामर्श र उपचार पाउँदा संक्रमितका परिवारका सदस्य निक्कै खुशी छन् ।

जनप्रतिनिधि र चिकित्सकको टोलीले अक्सिजन चाहिने बिरामीका लागि अक्सिजनको व्यवस्थापनमा सहजीकरण गरिदिने गरेका छन् । यस्तै अस्पताल मै भर्ना गर्नु पर्ने बिरामीलाई अस्पतालसँग समन्वय गरेर भर्ना गर्ने व्यवस्था समेत उनीहरुले मिलाउँदै आएका छन् ।

जनप्रतिनिधि र चिकित्सकको टोली उपचारका लागि घरमै पुग्दा उपचारमा सहज मात्र भएको छैन । संक्रमितको हौसला समेत बढ्ने गरेको छ ।

कोरोना संक्रमणका कारण समस्यामा परेका नागरिकलाई सहज रुपमा उपचार सेवा दिने उद्देश्यले चिकित्सकसहितको घर दैलो अभियान सुरु गरिएको हो । यो अभियानबाट ३० जना संक्रमित लाभाविन्त भई सकेका छन ।

कोरोना संक्रमणका कारण देश नै आक्रान्त छ । हरेक स्थानीय तहका हरेक वडामा संक्रमित छन् । संक्रमितलाई घरमै गएर उपचार गर्ने र परामर्श दिने गरी नेपालगञ्जमा शुरु भएको यो प्रयास अन्य स्थानीय तहले पनि अनुशरण गर्नु जरुरी छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *