भारतबाट नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमण बढ्दो (भिडियो रिपोर्टसहित)
२६ वैशाख २०७८ नेपालगञ्ज । भारतबाट नेपालगञ्ज नाका हुँदै घर फर्किएका १ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ । गत चैत ११ गतेदेखि वैशाख २५ गतेसम्म नेपालगन्ज नाका हुँदै ९३ हजार ३ सय १ जना नेपाल फर्किएका थिए । तीमध्ये शंकास्पद एक हजार २ सय ८ जनाको एन्टिजिन परीक्षण गर्दा १ सय ६३ जनामा संक्रमण देखिएको हो ।
भारतबाट आउनेहरु मध्ये केहीको सीमा नाकामा एन्टिजिन विधिबाट कोरोना परीक्षण हुने गरेको छ । नेपालगञ्ज नाकामा अहिलेसम्म १२ सय ८ जनाको एन्टिजिन परीक्षण गरिएको छ ।
जसमध्ये १ सय ६३ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएकालाई युनिसेफको सहयोगमा जमुनाहा नाकाबाट नेपालगन्जको मनिकापुरस्थित ह्वाइटहाउस आइसोलेशनमा लैजाने गरिएको छ ।
वैशाखको पहिलो साता भारतबाट नेपालगन्ज नाका हुँदै दैनिक करिब २ हजारको संख्यामा नेपालीहरु फर्कने गरेकोमा पछिल्ला दिनमा यो संख्या आधाले घटेको छ ।
कोरोना संक्रमणसँग मिल्दो जुल्दो लक्षण नभएका एन्टिजिन रिपोर्ट नेगेटिभ भएका ब्यक्तिलाई पनि काठमाडौं उपत्यका प्रवेशका लागि सम्बन्धित ब्यक्तिको घर या डेरा भएको वडाको सिफारिस अनिबार्य गरिएको छ । यस्तो सिफारिस नभएका ब्यक्तिलाई भने सीमा नाका मै रोकेर राखिएको छ ।
काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाका ब्यक्तिलाई होल्डिङ सेन्टरबाट बस चढाएर सिधै उनीहरुको गन्तब्यमा पुराउने व्यवस्था मिलाइएको छ । होल्डिङ सेन्टरबाट चल्ने बसमा यात्रुहरुलाई माक्स अनिवार्य गरिएको छ । सिटभन्दा बढी संख्यामा यात्रुलाई राख्न नपाउने व्यवस्था मिलाइएको छ ।
सीमा नाकामा जाँच गर्दा पोजेटिभ देखिएकालाई नेपालगन्जमै आइशोलेशन सेन्टरमा राख्ने गरिएको छ । नेगेटिभ आउनेलाई गन्तब्यमा पुर्याउने गरिएको छ । त्यसमा सुरक्षा निकायले सघाइरहेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि छिमेकी देश भारत पुगेका नेपालीहरुले रोजगारी गुमाएर फर्किरहेका छन् । पठनपाठन बन्द हुँदा विद्यार्थी पनि घर फर्किरहेका छन् ।
संक्रमण बढी फैलिएका देशबाट फर्किएकाहरुले स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गरी अरुमा सर्न नदिन चनाखो हुनु आवश्यक छ ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला
प्रतिक्रिया