समाज

भूमिगत संग्रहालय निर्माण गरेर यसरी शालिग्राम संरक्षण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २६ गते १४:३५
भूमिगत संग्रहालय निर्माण गरेर यसरी शालिग्राम संरक्षण (भिडियो रिपोर्टसहित)

२६ वैशाख २०७८ बागलुङ । विश्वकै दुर्लभ मानिएको शालिग्रामलाई बागलुङको कुडुलेमा संरक्षण गरिएको छ । भूमिगत संग्रहालय निर्माण गरेर शालिग्राम संरक्षण गरिएको यो ठाउँ धार्मिक पर्यटकीय केन्द्र बनेको छ । जहाँ १ लाख १५ हजार शालिग्राम राखिएको छ ।

कालीगण्डकी नदी शालिग्राम पाइने विश्वकै एउटा मात्र नदी हो । तर कालीगण्डकी नदीमा गिट्टी बालुवा उत्खनन् गर्ने, व्यापारीले शालिग्राम संकलन गरेर बेच्ने गर्दा अहिले कमै मात्र शालिग्राम पाइन्छ । मानवीय र प्राकृतिक कारणले शालिग्राम लोप हुँदै गएको छ ।

त्यसैले बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले फेदिमा एउटा संग्रहालय नै बनाएर शालिग्राम संरक्षण गरिएको छ । ६ करोड रुपैयाँ लागतमा निर्माण गरिएको यो संग्रहालयमा १ लाख १५ हजार वटा शालिग्राम राखिएको छ । शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन् ।

संग्रहालयमा कालिगण्डकीमा पाइने शालिग्राम मात्र नभई भारत तथा चीनका विभिन्न नदीमा पाइने शिला र केही समुन्द्रबाट संकलन गरिएका अवशेषलाई पनि राखिएको छ । त्यसैले यो संग्रहालयले बाग्लुङ्गमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत गर्ने स्थानीय बासिन्दाको अपेक्षा छ ।

भूमिगत रुपमा निर्माण गरिएको यो संग्राहलयभित्र स्वामी श्रीधराचार्यले लेखेका पुस्तक, रचना लगायतका अन्य सामग्री पनि राखिएको छ । संग्रहालय नजिकै श्रीरङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिर पनि छ । त्यसैले यो क्षेत्र एउटा धार्मिक पर्यटकीय केन्द्र बन्दै छ ।

संग्रहालयमा गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनी कक्ष बनाइएको छ । एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भूबनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना पनि यहाँ देखाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *