ला लिगाको उपाधि दाबेदार एटलेटिको मड्रिड र बार्सिलोना बराबरीमा रोकिए

२६ वैशाख २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलका उपाधि दाबेदार एट्लेटिको मड्रिड र बार्सिलोना बराबरीमा रोकिएका छन् ।
ला लिगा अन्तर्गत गएराति शीर्ष स्थानको एट्लेटिको र दोस्रो स्थानको बार्सिलोनाले गोलरहित बराबरी खेलेका हुन् । अवे मैदानमा बार्सिलोनालाई बराबरीमा रोकेको एट्लेटिको शीर्ष स्थानमा कायमै छ ।
उता घरेलु मैदानमा जितसहित शीर्ष स्थानमा उक्लिने बार्सिलोनाको प्रयास असफल बनेको थियो । यी दुई बीचको बराबरीपछि उपाधि होडमा रहेको अर्को टोली रियल मड्रिडलाई फाइदा पुगेको छ ।
एट्लेटिको ३५ खेलबाट ७७ अंक हुँदा बार्सिलोनाको समान खेलबाट ७५ अंक छ । उता एक खेल कम खेलेको तेस्रो स्थानको रियलको ७४ अंक छ ।
अब आज राति चौथो स्थानको सेभियालाई पराजित गरे शीर्ष स्थानको एट्लेटिकोसँग अंक बराबरी गर्दै रियल दोस्रो स्थानमा फर्कने छ ।
ला लिगाकै अन्य खेलमा अलाभेस र लेभान्टे तथा एथ्लेटिको बिल्बाओ र ओसासुनाले समान २(२ को बराबरी खेले । त्यस्तै काडिजले ह्युस्कामाथि २(१ को जित निकाल्यो ।
प्रतिक्रिया