समाज

देशभर अक्सिजन अभाव भएपछि दाङमा यसरी शुरु गरियो उत्पादन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २५ गते १६:३३
देशभर अक्सिजन अभाव भएपछि दाङमा यसरी शुरु गरियो उत्पादन (भिडियो रिपोर्टसहित)

२५ वैशाख २०७८ दाङ । कोरोनाको महामारीले अक्सिजनको अभाव हुन थालेपछि दाङमा अक्सिजन उत्पादन गर्न थालिएको छ । यसअघि बन्द रहेको दाङको अक्सिजन उद्योग, जिल्ला प्रशासन कार्यालय दाङ, स्थानीय तह र प्रहरीको समन्वयमा सञ्चालनमा ल्याइएको हो ।

दाङको घोराही ३ झिङ्नीमा ६ वर्ष पहिले स्थापना भएको अक्सिजन उद्योग विद्युत नियमित नभएका कारण बन्द थियो । तर अहिले कोरोना संक्रमण बढेर देशभर अक्सिजनको अभाव भएपछि २४ सै घन्टा बिजुली उपलब्ध गराउने व्यवस्था मिलाएर उद्योग सञ्चालन गरिएको छ ।

घोराही उपमहानगरपालिका र प्रशासनको समन्वयमा उद्योगका लागि छुट्टै बिद्युत लाइन उपलब्ध गराईएको छ । ४ करोड लगानीमा स्थापना भएको यो उद्योगबाट दैनिक २ सय सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिन्छ ।

सामान्य अवस्थामा दाङ्गमा दिनमा दुईसय सिलिण्डर ग्यास खपत हुने गरेको थियो । उद्योग बन्द भए पनि व्यवसायीले अन्तबाट मगाएर अक्सिजन बेच्दै आएका थिए ।

तर कोरोना संक्रमित थपिँदै जाँदा दैनिक चार देखि पाँचसय सिलिण्डर खपत हुँदै आएको छ । अहिले अक्सिजनको माग बढेकाले अन्तबाट ल्याउन पनि सजिलो छैन । त्यसैले दाङमै उद्योग सञ्चालन हुँदा केही राहत भएको छ ।

उद्योगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र लुम्बिनी प्रदेशको कोरोना बिशेष अस्पताल बेल्झुण्डीलाई प्राथमिकता दिँदै अक्सिजन उपलब्ध गराएको छ । दाङमै अक्सिजन उद्योग संचालन हुँदा अब कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग पुग्ने आशा बढ्दो छ ।

दाङ जस्तै अरु ठाउँमा पनि अक्सिजन उत्पादनको काम थाल्ने हो भने सहज हुने थियो । त्यसैले सरोकारवाला सबैले यसमा ध्यान दिनु जरुरी छ ।

भिडियो हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *