राजनीति

जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावका लागि तीन जनाको उम्मेदवारी

हिमालय टिभी
२०७८ वैशाख २४ गते १३:०९
जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावका लागि तीन जनाको उम्मेदवारी

२४ वैशाख २०७८ काठमाडौं । राष्ट्रिय सभाको जेठ ६ गते हुने उपचुनावका लागि नेकपा एमालेकै दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

नेकपा एमालेको संस्थापन पक्षका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा एमालेकै नेपाल–खनाल समूहका तर्फबाट डाक्टर खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षको समर्थन छ । हिजोसम्म हार्ने चुनाव उठ्दिँन भन्दै आएका गृहमन्त्री थापा आज बिहान बसेको नेकपा एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठकपछि उम्मेद्वार बन्न तयार हुनुभएको हो ।

बादलले एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल, प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहालसहितको टोलीलाई लिएर सिम्रिक एयरको हेलिकप्टरमार्फत हेटौंडा गएर उम्मेद्वारी दर्ता गराउनु भएको छ ।

थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत हुनुहुन्छ ।

गृहमन्त्री थापालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेसँगै रिक्त राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो । यो उपचुनावमा गृहमन्त्री थापाको प्रतिस्पर्धीमा एमालेको नेपाल–खनाल समूहका डाक्टर खिमलाल देवकोटा हुनुहुन्छ ।

हिजो नै बागमती प्रदेशको राजधानी हेटौंडा पुगेका देवकोटाले आज सबैभन्दा पहिले उम्मेदवारी दर्ता गर्नुभयो । देवकोटालाई एमालेको नेपाल समूहसहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालको उपेन्द्र यादव पक्षको समर्थन छ ।

देवकोटाको मनोनयनका लागि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, माओवादी नेता शालिकराम जम्कट्टेल, जसपाका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी लगायतका नेताहरु निर्वाचन कार्यालय पुगेका थिए ।

देवकोटाको समर्थकमा शालिकराम जमकट्टेल र समर्थकमा राधा घले हुनुहुन्छ । यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

उहाँको प्रस्तावकमा सुरेन्द्रराज गोसाइँ र समर्थकमा सिर्जना सायजु हुनुहुन्छ । यो उपचुनावमा बागमती प्रदेश सभाका सदस्य र बागमति प्रदेश भित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्