खेलकूद

क्रिकेटर कुशल भुर्तेल आईसीसी प्लेयर अफ द मन्थमा छनोट

हिमालय टिभी
२०७८ वैशाख २२ गते १३:३४
क्रिकेटर कुशल भुर्तेल आईसीसी प्लेयर अफ द मन्थमा छनोट

२२ वैशाख २०७८ काठमाडौं । नेपाललाई हालै सम्पन्न त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका कीर्तिमानी ओपनर कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसीले आज अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई समावेश गरेर प्लेयर अफ द मन्थको मनोनयन सार्वजनिक गरेको हो ।

मनोनयनमा कुशलसँगै पाकिस्तानका कप्तान बाबर आजम र पाकिस्तानकै ओपनर फखर जमान पनि छन् । गत ११ गते काठमाडौंमा सम्पन्न त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजको उपाधि जिताउँने क्रममा कुशलले कीर्तिमानी प्रदर्शन गरेका थिए ।

यसै सिरिजबाट अन्तराष्ट्रिय ट्वेन्टी ट्वेन्टीमा डेब्यु गरेका उनले लगातार तीन अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका थिए ।

नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका उनले ६२ रन, दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाउँदै लगातार तेस्रो अर्धशतक प्रहार गरेका थिए ।

चौथो खेलमा मलेसियासँगको खेलमा १६ रन मात्र बनाएका उनले फाइनलमा नेदरल्यान्ड्सविरुद्ध ७७ रन बनाएका थिए । जहाँ नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो ।

उनीसँगै मनोनयनमा परेका पाकिस्तानी कप्तान बाबर आजमले दक्षिण अफ्रिकाविरुद्ध एक दिवशीय र ट्वेन्टी ट्वेन्टी सिरिज जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । ओपनर फखर जमानले भने दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय सिरिज जिताउन दुई खेलमा शतकीय पाली खेलेका थिए ।

यि तीन खेलाडीमध्ये आईसिसीकै प्यानल र खुला मतदानबाट विजेता घोषणा गर्नेछ । आइसिसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टर रहने छन् जसको मतभार ९० प्रतिशत रहनेछ । त्यस्तै, १० प्रतिशत मत समर्थकको मतदानबाट लिईनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्