आईपीएलमा मुम्बईको शानदार जित, चेन्नई ४ विकेटले पराजित

१९ वैशाख २०७८ चेन्नई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा साविक विजेता मुम्बई इण्डियन्सले शानदार जित निकालेको छ ।
आईपीएल अन्तर्गत गएराति मुम्बईले शीर्ष स्थानको चेन्नई सुपर किंग्सलाई ४ विकेटले हराएको हो । २ सय १९ रनको विशाल लक्ष्य मुम्बईले ६ को विकेट गुमाएर अन्तिम बलमा पूरा गरेको थियो ।
मुम्बईका केरोन पोलार्डले ८७ रनको उत्कृष्ट इनिंग्स खेले । ३४ बलको सामना गरेका पोलार्डले ८ छक्का र ६ चौकाको मद्दतले ८७ रन जोडे । पोलार्डले यस सिजनमा सबैभन्दा कम १७ बलमा अर्धशतक बनाउने कीर्तिमान समेत बनाए ।
त्यस्तै क्विन्टन डिकक ३८, कप्तान रोहित शर्मा ३५ तथा क्रुनल पाण्ड्या ३२ रनमा पेभेलिएन फर्के । चेन्नईका साम करनले तीन विकेट लिए । यसअघि दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा २ सय १८ रन बनाएको थियो । चेन्नईका अम्बाटी रायुडु ७२ रनमा अविजित रहे ।
त्यस्तै मोइन अलीले ५८ अनि फाफ डुप्लेसिसले ५० रन जोडे । बलिङमा मुम्बईका केरोन पोलार्डले दुई विकेट हात पारे । पोलार्ड म्यान अफ द म्याच भए ।
हारका बावजूद ७ खेलबाट १० अंकसहित चेन्नई शीर्ष स्थानमा कायमै रहँदा समान खेलबाट चौथो स्थानमा रहेको मुम्बईको ८ अंक छ ।
प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद तथा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।
प्रतिक्रिया