समाज

शिक्षामा वैकल्पिक माध्यम, ग्रामीण क्षेत्रका विद्यार्थीका यस्ता छन् समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १८ गते १४:५१
शिक्षामा वैकल्पिक माध्यम, ग्रामीण क्षेत्रका विद्यार्थीका यस्ता छन् समस्या (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ सुर्खेत । कोरोना सङ्क्रमण बढेसँगै देशभरका शिक्षण संस्थामा पठनपाठन प्रभावित भएको छ । कोरोना नियन्त्रणमा आएर सामाजिक दूरी कायम राख्नुपर्ने अवस्था नहटेसम्म कक्षामा औपचारिक पढाइ हुन गाह्रो छ । धेरै स्थानमा वैकल्पिक माध्यमबाट पठनपाठन निरन्तरता दिइएको छ । तर ग्रामीण क्षेत्रमा भने विद्यार्थीको पठनपाठनमा समस्या छ ।

शहरी तथा सुगम क्षेत्रमा अनलाइनबाट धमाधम पढाइ भइरहेको छ । तर प्रविधिको पहुँच नपुगेका ग्रामीण क्षेत्रका विद्यार्थीका लागि यसरी अध्ययन गर्न कठिन छ । सुर्खेतको चिंगाड गाउँपालिका वडा नम्बर ५ अवलचिंडको भैरव माविका विद्यार्थीले भने स्वअध्ययनमै जोड दिएका छन् ।

विद्यार्थीले नजानेका कुरा शिक्षकलाई फोनमा तथा भेटेरै पनि सोध्ने गरेका छन् । पहिलो लकडाउनमा पढ्न नपाएका विद्यार्थीले रेडियोबाट आउने कक्षा तथा स्वअध्ययनबाटै सिक्ने गरेका छन् ।

कोरोना महामारीको चुनौतिकाबीच बालबालिकाको पढाइ नछुटोस् भनेर अभिभावकले पनि घरमै पढ्ने वातावरण मिलाइ दिएका छन् । मोवाइल, ल्यापटप तथा इन्टरनेटको पहुँच बाहिर रहेका विद्यार्थीले छिटपुट रुपमा शिक्षकलाई भेट्ने गर्छन् । ग्रामीण क्षेत्रको सिकाइका लागि रेडियो कार्यक्रम र शिक्षक विद्यार्थी भेटघाट प्रभावकारी भएको छ ।

विद्यालयले पनि सिकाइ निरन्तरता दिन निषेधाज्ञाको अवधि र कोभिड महामारीको अवस्था हेरी अघिल्लो वर्ष अपनाएका रणनीति अनुसार नै अघि बढ्ने तयारी गरेको छ ।

कोरोना भाइरस महामारी जस्तो चुनौतीपूर्ण समयमा सिकाइको अवसर गुम्न नदिन वैकल्पिक माध्यमको प्रयोग बढेको छ । तर प्रविधिको पहुँच नभएका ग्रामीण भेगमा भने शिक्षा अघि बढाउन सहज छैन । यस्तोमा रेडियो र शिक्षकसँगको सम्पर्क नै विद्यार्थीका लागि सहयोगी बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *