कोरोनाका कारण सम्पूर्ण क्रिकेट गतिविधि स्थगित
१७ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै क्रिकेटका सबै प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति निकालेर वर्तमान अवस्थामा सुधार नआएसम्म र अर्को सुचना जारी नभएसम्मका लागि सबै प्रतियोगिता स्थगित गरिएको जनाएको हो ।
सरकारले उपत्यका लगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्दै समूहगत खेलमा रोक लगाएको छ । क्यानले प्रस्तावित राष्ट्रिय प्रतियोगिता, जिल्ला तथा प्रदेश छनोट तथा द्धिपक्षीय र त्रिकोणात्मक अन्तर्राष्ट्रिय सिरिज स्थगित भएको जनाएको छ । सम्पूर्ण जिल्ला तथा प्रदेश संघलाई खेलका सम्पूर्ण गतिविधि अर्को सूचना जारी नभएसम्म स्थगित गर्न क्यानले भनेको छ ।
पूर्व निर्धारित तालिका अनुसार नेपालले आगामी मे मा नामिबियासँग एकदिवसिय सिरिज खेल्ने तय थियो ।
त्यस्तै, जेठमा उन्नाईस वर्ष मुनिको राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला र प्रदेश छनोटको तयारी थियो । यसअघि राष्ट्रिय महिला टोलीले भारतको उत्तराखण्डको टोलीसँग खेल्ने भनिएको एक दिवसिय र ट्वेन्टी ट्वेन्टी सिरिज पनि स्थगित गरिएको थियो ।
प्रतिक्रिया