समाज

९५ जनाको क्षमता तर ४१५ जना कैदीबन्दी छन् कारागारमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १४ गते १४:२६
९५ जनाको क्षमता तर ४१५ जना कैदीबन्दी छन् कारागारमा (भिडियो रिपोर्टसहित)

१४ वैशाख २०७८ कञ्चनपुर । कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुण बढी कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षामा सकस भएको छ । ९५ जना कैदीबन्दी राख्ने क्षमता भए पनि अहिले यो कारागारमा ४ सय १५ जना कैदीबन्दी छन् । जसका कारण कैदीबन्दी र सुरक्षाकर्मी समस्यामा छन् ।

कञ्चनपुर कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी छन् । जेलको कुनै ठाउँ र कुनै कुनो खाली छैन् बस्नलाई ।

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि सुरक्षाकर्मीलाई पनि सास्ती छ । सीमित सुरक्षाकर्मीले दिनरात नभनी घन्टौँ ड्युटी गर्नु परेको छ ।

जेलका कैदीबन्दी बिरामी हुँदा अस्पताल लैजान र सुनुवाइका लागि अदालत लैजान एउटा पुरानो गाडी छ । त्यो बिग्रँदा कहिलेकाहीँ बिरामी कैदीले पनि हिँडेर अस्पताल जानुपर्ने हुन्छ ।

कारागार प्रशासन र जिल्ला सुरक्षा समितिले पनि कारागारको अवस्था जीर्ण रहेको र नयाँ व्यवस्थापनमा पहल गर्न केन्द्रमा पत्राचार गरे पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो समय प्रहरीले लागू औषध नियन्त्रणका लागि जिल्लाभर चलाएको अभियानका क्रममा दैनिक जसो मानिस पक्राउ परिरहेका छन् ।

यस्तै महिला हिंसा, जबरजस्ती करणी, चोरी, ज्यान मार्ने उद्योग लगायतका घटना पनि बढेका छन् । जसले गर्दा कारागारमा कैदीबन्दी थपिएका थपिएकै हुन्छन् । तर कारागार सानो भएका कारण समस्यै समस्या छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *