समाज

महाकाली सिंचाई आयोजनाको काम अलपत्र बजेट, वन र मुआब्जा विवाद (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १३ गते १४:४८
महाकाली सिंचाई आयोजनाको काम अलपत्र बजेट, वन र मुआब्जा विवाद (भिडियो रिपोर्टसहित)

१३ वैशाख २०७८ कञ्चनपुर । सिंचाइतर्फ सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनाभित्र पर्ने महाकाली सिंचाइ आयोजनाको तेस्रो चरणको मूल नहर निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ । २०६३ सालमै शुरु भएको सिंचाइ आयोजनाको काम बजेट अभाव, वनलगायत अन्य निकायसितको प्रक्रियागत अल्झन र मुआब्जा विवादका कारणले ढिलाइ हुँदै आएको छ ।

राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको कञ्चनपुरको महाकाली सिंचाइ आयोजनाको तेस्रो चरणको कामको गति सुस्त छ । कञ्चनपुर र कैलालीको ३३ हजार हेक्टर जमिनमा सिंचाइ पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको सिंचाइ आयोजनाको मुल नहरको कामलाई ऐलानी जग्गा क्षतिपूर्ति र सामुदायिक वनको रुख कटानले प्रभावित बनाएको हो ।

सरकारले महाकाली सिंचाइ आयोजनाको बारेमा कुरा मात्रै गरेको र उचित मुआब्जा नदिँदा आफूहरुको उठिबास लाग्ने अवस्था आएको स्थानीय बासिन्दाको गुनासो छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित नेपाल–भारत सीमायता बेदकोट नगरपालिकाको मसेपानीसम्म १३ किलोमिटर मूल नहर निर्माण भइसकेको छ । त्यसपछि आयोजनाले थप एक किलोमिटर मूल नहर निर्माणका लागि ३६ महिनाको अवधि तोकेर तीन प्याकेजमा ठेक्का दिएको छ । निर्माण कार्य अहिले ११ प्रतिशत मात्रै भएको छ । तर ऐलानी जग्गामा घर बनाएर बसोबास गर्दै आएकाले क्षतिपूर्ति नपाएसम्म काम अघि बढाउन नदिने अडान दिएका छन ।

तीन वर्षअघि तीन वटा प्याकेजमा १५ किलोमिटर मूल नहर निर्माणका लागि ठेक्का दिएको भए पनि सरकारले प्रदान गर्ने मुअब्जामा स्थानीय बासिन्दाको चित्त नबुझ्दा निर्माण कार्यमा ढिलाइ भएको आयोजनाले पनि स्वीकार गरेको छ ।

रुख कटानीको विषय टुंगा लागे पनि जग्गा र स्थानीय बासिन्दाको घर संरचनाको विषय नसल्टिँदा आयोजना समस्यामा नै रहने देखिन्छ । आयोजनाको ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना समयमा पूरा नहुने भएपछि लागत बढ्ने देखिन्छ । यसर्थ समस्या समाधान गरेर आयोजना अघि बढाउन सरकारले पहल गरिहाल्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *