आर्थिक

माडीमा मगर समुदायको कला–संस्कृति झल्काउने यस्तो होमस्टे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १३ गते १४:४०
माडीमा मगर समुदायको कला–संस्कृति झल्काउने यस्तो होमस्टे (भिडियो रिपोर्टसहित)

१३ वैशाख २०७८ चितवन । शहरी कोलाहलबाट दिक्क भएका मानिसका लागि शान्त वातावरणमा बस्दै प्राकृतिक सौन्दर्यता अवलोकनका लागि होमस्टे प्रभावकारी हुँदै आएको छ । मगर समुदायले आफ्नो कला र संस्कृतिलाई संरक्षण गर्दै चितवनको माडी उपत्यकामा सञ्चालन गरेको होमस्टेमा पर्यटक आकर्षित हुने क्रम बढ्दो छ ।

बजारको भिडभाडभन्दा टाढा प्राकृतिक रमणीय वातावरणमा रहेको होमस्टेमा बस्न पाउँदा पर्यटक खुसी हुने गरेका छन् । चितवनको माडी उपत्यकाको शिवद्वारमा स्थापना गरिएको सामुदायिक होमस्टेले पुन मगरको कला र संस्कृति प्रदर्शन गर्दै पर्यटकको मन जित्ने गरेको छ ।

अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे शिवद्वारमा आएका पाहुनालाई सोरठी, सालेजु, चुड्का, ठाडो भाका प्रदर्शन गरेर मनोरञ्जन दिइन्छ ।

माडी नगरपालिकामा ठूला होटल नहुँदा पर्यटकहरु बस्नका लागि शिवद्वारमा स्थापना भएको अयोध्यापुरी सामुदायिक होमस्टे रोजाइमा पर्ने गरेको छ । मौलिक खाना होम स्टेको अर्को विशेषता हो ।

म्याग्दीबाट बसाई सरी माडी आएका मगर समुदायले सञ्चालन गरेको होमस्टेमा २६ वटा कोठामा ७८ जनासम्म बस्न सक्छन । होमस्टेले स्थानीय स्रोत र साधनको परिचालन गर्दै युवालाई स्वरोजगार समेत बनाएको छ । यसले युवाको विदेश पलायन पनि रोकेको छ ।

पाहुना आए सेवा गरौँला नभए आफैं बसौला भन्ने सोचेर दुई लाख रुपैंया ऋण गरेर बनाएका दुई कोठाबाट भएको आम्दानीले सञ्चालक पम्फा श्रेष्ठ दंग हुनुहुन्छ ।

होमस्टे बनिसकेपछि माडीमा पर्यटकको आगमन बढेको छ । पुन मगरको सिको गरेर माडीमा अहिले बोटे,थारु, राई र ब्राम्हण समुदायले पनि होमस्टे सञ्चालन गर्न थालेका छन ।

चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु र यसको मध्यवर्ती क्षेत्रमा जंगली जनावरले किसानलाई दुख दिने गरेकोले त्यसको रोकथाम तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि होमस्टेको अवधारणा ल्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *