खेलकूद

त्रिदेशीय क्रिकेट सिरिजः नयाँ खेलाडीको धमाकेधार इन्ट्री पुरानालाई यस्तो चुनौती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ११ गते १८:३१
त्रिदेशीय क्रिकेट सिरिजः नयाँ खेलाडीको धमाकेधार इन्ट्री पुरानालाई यस्तो चुनौती (भिडियो रिपोर्टसहित)

११ वैशाख २०७८ काठमाडौं । त्रिदेशीय क्रिकेट सिरिजको उपाधिसँगै नेपाली क्रिकेटको स्तर उक्लिएको छ । यसअघि नेपालको कमजोरी रहेको ब्याटिङ यो सिरिजबाट सुध्रिएको प्रमाणित भएको छ । युवा खेलाडीको शानदार प्रदर्शनसँगै पुराना खेलाडीमाथि चुनौति थपिएको छ । केही नयाँ खेलाडीले कीर्तिमानी प्रदर्शनसहित नेपाली क्रिकेटमा आफ्नो स्थान बनाएका छन् । नेपालका लागि समग्रमा यो सिरिज कस्तो रह्‍यो त ?

त्रिदेशीय सिरिजमा नेपाली टीमले केही राष्ट्रिय र केही अन्तर्राष्ट्रिय कीर्तिमानसमेत बनायो । कुशल भूर्तेलले शुरुवाती तीन खेलमा लगातार अर्धशतक हानेर अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कीर्तिमान बनाए । उनले सिरिजका कुल पाँच खेलमा चार अर्धशतक प्रहार गरे ।

यस्तै कुशल मल्ल अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । यसअघि उक्त कीर्तिमान नेपालकै सन्दीप जोराको नाममा थियो । नेदरल्याण्ड्सविरुद्धको फाइनल खेलमा अर्धशतक हानेका कुशल १७ वर्ष ५० दिनका भएका छन् ।

यसअघि सन्दीप जोराले १७ वर्ष १ सय ३ दिनको रहँदा अर्धशतक हानेका थिए । उनले उक्त कीर्तिमान यूनाइटेड अरब एमिरेट्स (यूएई) विरुद्ध हानेका थिए ।

फाइनलमा १ सय ४२ रनको जीत अन्तर पनि नेपालका लागि कीर्तिमान हो । नेपालले यसअघि भूटानलाई एक सय ४१ रनको फराकिलो अन्तरले हराएको थियो ।

यसबाहेक नेपालले फाइनलमा बनाएको स्कोर पनि अहिलेसम्मकै ठुलो हो । यसअघि भूटानविरुद्ध नै नेपालले २ सय ३६ रन बनाएको थियो । नेदरल्याण्ड्सविरुद्ध २ सय ३८ रन बनाएर त्यसलाई तोडेको छ ।

ओपनिङको समस्या समाधान
नेपालले सँधै व्यहोर्दै आएको समस्या हो ओपनिङको । धेरै समयदेखि नेपालको ओपनिङ जोडी सेट हुन सकेको थिएन । यसका लागि कयौं प्रयोग भए । तर सबै असफल भइरहेका थिए । तर यो सिरिजबाट त्यो समस्या समाधान भएको छ ।

नयाँ खेलाडी कुशल भूर्तेल र आसिफ शेखले ओपनिङ जोडीको खाँचो पुरा गरिदिएका छन् । ओपनिङ पार्टनरसिप राम्रो हुँदा समग्र टिमको प्रदर्शनमै सुधार भएको छ । आगामी दिनमा हुने प्रतियोगितामा नेपालबाट कसले ओपनिङ गर्ला भन्ने चिन्ता टरेको छ ।

व्याटिङमा आत्मविश्वास
नेपालको बलिङमा ठुलो समस्या थिएन । तर ब्याटिङमा भने ठुलो उतार चढाव थियो । त्यसको एउटै कारण खेलाडीमा आत्मविश्वास देखिदैनथ्यो । मध्यम लक्ष्य पार गर्न पनि नेपाललाई निकै ठुलो मेहनत गर्नुपर्थ्यो । तर त्रिदेशीय सिरिजमा भने नेपाली ब्याटिङमा गज्जबको आत्मविश्वास देखियो ।

पहिले ब्याटिङ गरेका तीन वटै खेलमा नेपालले २ सयभन्दा ठुलो स्कोर बनायो । कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी लगायतका खेलाडीले शानदार ब्याटिङ गरे । यसबाट नेपालको ब्याटिङमा देखिएको दबाब हटेको छ । एकातिर पहिले ब्याटिङ गर्दा ठुलो स्कोर बनाउन सक्ने र अर्कातिर ठुलो लक्ष्य पनि पार गर्न सक्ने आत्मविश्वास यो सिरिजबाट नेपाली टिममा आएको छ ।

नयाँ खेलाडीको उदय, पुरानालाई चुनौती
त्रिदेशीय सिरिजको अर्को उल्लेखनीय पक्ष नयाँ खेलाडीको धमाकेदार प्रदर्शन हो । विशेषगरी कुशल भूर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी र आसिफ शेखको ब्याटिङले सबैलाई लोभ्याएको छ ।

बलिङतर्फ पनि कमलसिंह ऐरी, अविनाश बोहरा र साहव आलमले सम्भावना देखाएका छन् । प्लेयर अफ द सिरिज बनेका कुशल भूर्तेलले करिव ७० को एभरेजमा २ सय ७८ रन बनाए । यस्तै आसिफ सेखले १ सय ५४ र दिपेन्द्रसिंहले १ सय ४७ रन बनाए । कुशल मल्लले ब्याटिङ र बलिङ दुबैतर्फ गतिलो प्रदर्शन गरे ।

तीन खेलमा ब्याटिङ गरेका उनले ८७ रन बनाए भने दुई इनिङ्समा २ विकेट पनि लिए । सिरिजमा १३ विकेट लिएर सन्दीप लामिछाने अग्रस्ठानमा रहे । करन केसी र सोमपाल कामीले पनि गतिलो बलिङ गरे । घाइते भएका कारण पूर्व कप्तान पारस खडका यो सिरिज गुमाएका थिए ।

ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, आरिफ शेख लगायतको प्रदर्शन यो सिरिजमा उल्लेखनीय रहेन । आरिफले मौका पाएनन् भने मल्ल र भण्डारीको प्रदर्शन औसत मात्रै देखियो । यो सिरिजमा नयाँ खेलाडीको धमाकेदार इन्ट्री पुराना खेलाडीका लागि खतराको घण्टी हो । आगामी दिनमा टिकिरहन पुराना खेलाडीले ठुलो मेहनत गर्नुपर्ने देखिएको छ । राष्ट्रका लागि भने यो सुखद् हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्