खेलकूद

नेपाल र नेदरल्याण्ड्सका सबल र दुर्बल पक्ष के के हुन त ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १० गते २०:३६
नेपाल र नेदरल्याण्ड्सका सबल र दुर्बल पक्ष के के हुन त ? (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि शनिबार नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । जारी सिरिजमा समान एक एक खेल हारेका दुई टोलीबीचको भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ । नेपाल समूह विजेता र नेदरल्याण्ड्स उपविजेताका रुपमा फाइनल प्रवेश गरेका हुन् । दुबै टिमका सबल र दुर्बल पक्ष के के हुन त ?

त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भएको थियो । खेलमा नेपालले पाहुना टोलीलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै सिरिजमा विजयी सुरुवात गर्यो । यि दुईबीच नै लिग चरणको दोस्रो खेलमा ३ विकेटको जित निकाल्दै नेदरल्याण्ड्सले आफू कमजोर नरहेको जवाफ दियो ।

हुन पनि एसोसिएट राष्ट्र मध्य नेदरल्याण्ड्स बलियो टोली मानिन्छ । तीन पटक ट्वेन्टी ट्वेन्टी विश्वकप खेलिसकेको नेदरल्याण्ड्स बलियो मानिएका टेष्ट राष्ट्रहरुलाई समेत हराउने क्षमता राख्छ । बंगलादेश, अफगानिस्तान, न्युजिल्यान्ड, जस्तो बलियो टोलीलाई पाखा लगाइसकेको नेदरल्याण्ड्सले ट्वेन्टीट्वेन्टी फरम्याटमै विश्व वरियताको शीर्षस्थानको इङ्ल्याण्डलाई समेत हराइसकेको छ ।

ट्वेन्टी ट्वेन्टी अन्तर्गत आईसीसीको पछिल्लो वरियतामा नेपाल नेदरल्याण्ड्सभन्दा माथिनै छ । वरियतामा नेपाल १५ औं स्थानमा छ भने नेदरल्याण्ड्स १७ औं स्थानमा छ । तर वरियता क्रमले खासै फरक नपार्ने उदाहरण सिरिजका अघिल्ला खेलहरुबाट प्रमाणित भइसकेको छ । यस्तोमा घरेलु मैदानको फाइदा उठाउन नेपाललाई जरुरी छ ।

पछिल्लो दुई खेलको नतिजाका आधारमा नेपाल केहि बलियो स्थितिमा रहे पनि नेदरल्याण्ड्सलाई कमजोर आँकलन गर्न भने सकिँदैन । लीग चरणमा नेपालले दिएको २ सय ७ रनको विशाल लक्ष्य ३ बल बाँकी छँदै चेज गर्न सक्ने क्षमता उसले देखाइसकेको छ । त्यस्तै, टोलीमा मध्यक्रमका ब्याट्सम्यानहरु पनि राम्रो लयमा रहनु नेरल्याण्ड्सको बलियो पक्ष हो ।

यता घरेलु टोली नेपालले यो सिरिजमा राम्रो प्रदर्शन गरिरहेको छ । सँधै कमजोर ओपनिङबाट ग्रस्त नेपालले यो पटक उत्कृष्ट ओपनिङ जोडी पाएको छ जुन नेपालको लागि सुखद परिणाम दिलाउन सक्ने पक्ष हो । ओपनर कुशल भुर्तेल यो सिरिजकै सर्वाधिक रन बनाउने खेलाडीको सुची शीर्ष स्थानमा र अर्का ओपनर आसिफ शेख तेस्रो स्थानमा छन् ।

त्यस्तै, दिपेन्द्र सिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल र करन केसीको ब्याटिङ नेपालका लागि उपाधि दिलाउन सक्ने आधार हुन सक्छ भने बलिङतर्फ सन्दीप लामिछाने, सोमपाल कामी र करन केसी लयमा देखिएका छन् ।

नेदरल्याण्ड्सका लागि यो सिरिजमा म्याक्स ओडाउड, बेन कुपर, बास डे लिडेको ब्याटिङ र थोमस ब्राट, बास डे लिडे, पिटर सेलार जस्ता खेलाडीको बलिङ नेपालका लागि घातक हुन सक्नेछ । ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालको लागि नेदरल्याण्ड्स परिचित टोली हो ।

अन्तर्राष्ट्रिय ट्वेन्टी ट्वेन्टीमा यि दुईबीच यो सिरिजका खेल सहित ८ खेल भएका छन् । जसमा नेपाल ३ खेलमा विजयी भएको छ भने ४ खेलमा पराजित । एक खेल वर्षाको कारण नतिजा विहिन छ । यस्तोमा यो पटक फाइनलमा नेपाल सामु नेदरल्याण्ड्सलाई हराउँदै उपाधि जित्ने मौका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्